- प्रमिला कार्की
काठमाडौँ, २४ मङ्सिर । वरिष्ठ दन्त विशेषज्ञ तथा अर्थोडोन्टिस्ट डा.हर्ष कुमार तिवारीले नेपालका ग्रामीण तथा सहरी क्षेत्रमा दन्त स्वास्थ्यबारे चेतना बढ्दै गएको बताउनुभएको छ ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उहाँले देशका विभिन्न जिल्लाहरुमा पुग्दा चेतना बढ्दै गएको बताउनुभएको हो । रामेछाप, उमाकुण्ड, गोकुलगंगा, धादिङ, चितवन, लमजुङलगायतका स्थानमा- डेन्टल क्याम्प सञ्चालन गर्दा स्थानीय बासिन्दामा दन्त समस्या धेरै देखिए पनि त्यसलाई समाधान गर्ने योग्य जनशक्ति ठ्याक्कै त्यहाँसम्म नपुगेको अवस्था अझै रहेको बताउनुभयो ।
डा.तिवारीका अनुसार अहिले पहिलाभन्दा जनस्तरमा दन्त स्वास्थ्यप्रति जागरूकता उल्लेख्य रूपमा बढेको छ । गाउँ–गाउँमा दन्त चिकित्सक कहाँ भेटिन्छ, कसरी उपचार लिनुपर्छ भन्नेबारे जानकारी पुग्दै गएको छ । तथापि, केही समूह अझैपनि आधारभूत दन्त हाइजिन र उपचारप्रति अपर्याप्त जानकारीका कारण समस्याग्रस्त बन्ने गरेको उहाँले बताउनुभयो ।
शिशुबाटै दन्त हाइजिन सुरू गर्नुपर्ने आवश्यकता
डा.तिवारीले शिशुले दुध चुस्ने समयदेखि नै गिजाको सरसफाइ आवश्यक हुनेमा जोड दिनुभयो । “आमाले नरम कपडा पानीमा भिजाएर दुध पिलाएपछि गिजा पुछिदिनुपर्छ । यसले भविष्यमा दाँतमा बिरा लाग्ने सम्भावना घटाउँछ,” उहाँले भन्नुभयो । दुई–तीन वर्षको उमेरदेखि बालबालिकालाई मटरको दाना बराबरको पेस्ट प्रयोग गरेर ब्रसिङ सिकाउनुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।
बाङ्गो–टिङ्गो दाँत र प्रारम्भिक हस्तक्षेप
कहिलेकाहीँ बच्चाले चकलेट बढी खानु, ब्रस नगर्नु, औँला चुस्ने, जिब्रो धकेल्ने (टङ थ्रस्टिङ) जस्ता बानीले दाँत बाङ्गो बन्ने समस्या देखिने उहाँले बताउनुभयो ।
इन्टरसेप्टिभ अर्थोडोन्टिक्समार्फत् ग्रोथ हुँदै गरेका बालबालिकामा प्रारम्भिक चरणमै समस्या समाधान गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । स्पेस मेन्टेनर तथा स्पेस रिगेनर जस्ता उपकरणहरूले भविष्यमा दाँत बाङ्गिन नदिन मदत गर्ने उहाँको भनाइ छ ।
श्वासप्रश्वाससम्बन्धी समस्या र दन्त स्वास्थ्य
माउथ ब्रिदिङ, बालबालिकामा देखिने स्लीप एपनिया जस्ता समस्याले पनि दाँत तथा अनुहारको विकासमा असर पार्ने भएकाले समयमै पहिचान आवश्यक रहेको उहाँले बताउनुभयो । यी समस्यालाई वेवास्ता गर्दा वयस्क अवस्थामा ओबेसिटी र अब्स्ट्रक्टिभ स्लीप एपनिया जस्ता गम्भीर समस्या उत्पन्न हुन सक्ने चेतावनी उहाँले दिनुभयो ।
दन्त स्वास्थ्य सम्पूर्ण शरीरसँग सम्बन्धित
डा.तिवारीले दन्त स्वास्थ्यलाई सम्पूर्ण शारीरिक स्वास्थ्यको प्रमुख ढोका भएको बताउनुभयो । “दाँतले राम्रोसँग चपाउन नपाउँदा पेटको समस्या, अपचनदेखि मनोवैज्ञानिक असरसमेत पर्न सक्छ,” उहाँले भन्नुभयो ।
फेमिली डेन्टिस्टको आवश्यकता
नियमित रूपमा तीन–चार महिनामा डेन्टल चेकअप गर्न, ब्रस टेक्निक सुधार्न, फ्लोराइडयुक्त पेस्ट प्रयोग गर्न तथा माउथवास प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । परिवारका सबै सदस्यले भरपर्दो एक फेमिली डेन्टिस्टसँग सम्बन्ध कायम राख्न आवश्यक रहेको उहाँको भनाइ छ ।
ब्रसेस र क्लियर एलाइनरः आधुनिक प्रविधिले उपचार सहज
ब्रसेसका विभिन्न प्रकार मेटालिक, सेरामिक, सेल्फ–लाइगेटिङ, लिङ्गुअल तथा क्लियर एलाइनर-बारे पनि डा. तिवारीले विस्तृत जानकारी दिनुभयो ।
अर्थोडोन्टिक उपचार पेशेवर, एनएमसी–दर्ता भएका विशेषज्ञबाट नै गराउनुपर्नेमा उनले विशेष ध्यानाकर्षण गराउनुभयो ।
क्लियर एलाइनर प्रविधि अत्याधुनिक र सजिलो भएको बताउँदै उहाँले भन्नुभयो, “स्क्यानिङपछि पेसेन्टलाई पहिलेदेखि नै प्रिपोस्ट रिजल्ट देखाइन्छ, जसले उनीहरूलाई उपचारप्रति उत्साहित बनाउँछ ।”
उहाँका अनुसार अहिलेका बिरामीहरू उपचारबारे ठुलो मात्रामा रिसर्च गरेर आउने भएकाले उनीहरूमा समस्या बुझ्ने र समाधान खोज्ने क्षमता बढेको छ ।