अतिक्रमित घर टहरा हटाउन सुरू

6

नेपालगञ्ज, ११ मङ्सिर । रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि हटाउन सुरू गरेको छ ।

उपमहानगरले बिपीचोकबाट धम्बोझी चोकसम्म राजमार्गदेखि २१ मिटरभित्रका घर टहरा हटाउन सुरु गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले त्यस क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउन सुरु गरिएको जानकारी दिनुभयो । उहाँले हरियाली प्रवर्द्धन गर्न रुख बिरुवासमेत रोपिने उल्लेख गर्दै डेढवर्षमा गणेशमान चोकदेखि बिपीचोक र धम्बोझी चोकदेखि पुप्पलाल चोकसम्म पूर्वाधार निर्माण गरिने बताउनुभयो ।

४९ लाख ५० हजार रूपैयाँमा सो ठेक्का लगाइएकाले हाल बिपीचोकदेखि धम्बोझी चोकसम्म अतिक्रमण हटाइने उहाँको भनाइ छ । उपमहानगरले यसअघि सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण गरेका जग्गा खाली गर्न आग्रह गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...