द्वन्द्वकालीन यौन हिंसा र न्यायको अपूरो खोज : देवी खड्काको साहसिक यात्रा

6
  • प्रमिला कार्की

जुन १९ को दिन विश्वभर ‘द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस’ मनाइन्छ । द्वन्द्वको समयमा यौन हिंसालाई एक नियोजित रणनीतिका रूपमा प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र यसबाट पीडितहरूको अधिकार सुनिश्चित गर्न यो दिवसले विशेष महत्त्व राख्छ ।

द्वन्द्व–सम्बन्धित यौन हिंसाले युद्ध वा द्वन्द्वसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिने महिला वा पुरुषमाथि गरिएको बलात्कार, यौन दासत्व, जबर्जस्ती गर्भधारण, गर्भपतन, विवाह र यस्तै गम्भीर प्रकृतिका कुनै पनि यौन हिंसालाई बुझाउँदछ ।

नेपालको १० वर्षे सशस्त्र द्वन्द्वको कालो अध्यायमा हजारौँ नागरिकले ज्यान गुमाए, हजारौँ बेपत्ता पारिए, तर तीमध्ये पनि सबैभन्दा बढी अपमान र पीडाको भारी बोक्न बाध्य पारिएका पात्र हुन्, द्वन्द्वकालीन यौन हिंसाका पीडित महिलाहरू ।

यिनै पीडितहरूको आवाज र सङ्घर्षको एक सशक्त प्रतीक बनेकी छिन् देवी खड्का । खड्काको कथा कुनै एक महिलाको व्यक्तिगत पीडा मात्र होइन, यो नेपालको द्वन्द्वकालीन न्यायको अधुरो र कठिन यात्राको ऐना हो ।

द्वन्द्वको विभीषिका र देवी खड्का
नेपालको सशस्त्र द्वन्द्व केवल राजनीतिक विचारधाराको लडाइँ मात्र थिएन । यो त आम नागरिकको जीवन, मर्यादा र अस्तित्वको लडाइँ थियो । द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्ष दुवैबाट महिलाहरू ‘सुरक्षित’ थिएनन् । देवी खड्का नेपालको सशस्त्र द्वन्द्वकालमा यौन हिंसाको सिकार भएकी एक महिला हुन्, जसले आफ्नो पीडालाई साहसपूर्वक सार्वजनिक गर्दै न्याय र समानताका लागि लामो सङ्घर्ष गर्नुभएको छ ।

खड्काले ०७८ चैतको दोस्रो हप्ता आफ्नै नेतृत्वमा द्वन्द्वमा बलात्कारपीडित महिलाको राष्ट्रिय संगठन बनाउनुभयो । ‘म नबोले कोही नबोल्ने रहेछन्’ भन्ने उहाँको गम्भीर सोचले नै पीडितहरुको नेतृत्वकर्ताको रुपमा उहाँलाई धकेलेको थियो ।

पीडित आफैँ नबोल्दासम्म इतिहास गुमनाम हुने स्थिति बनेको उहाँले अनूभूति गर्नुभयो । पीडित अनुहार लुकाएर बस्नुपर्ने र ‘अपराधी’ खुलेआम हिँड्ने परिस्थिति देखेपछि झन् उहाँ चुप बस्नै सक्नुभएन । त्यसैले बाध्य भएर देवी खड्काले बलात्कार पीडितका पक्षमा अनुहार देखाएर बहस सुरू गर्नुभयो ।

उहाँले आफ्नो लागि अनि द्वन्द्वकालका राज्य र विद्रोही पक्षबाट बलात्कार तथा यौन हिंसा पीडित आफू जस्ता झण्डै तीन हजार महिलाको न्यायका लागि संगठित रूपमा संघर्ष नै सुरु गर्नुभयो ।

देवी खड्काको कथाले द्वन्द्वको त्यो क्रूर समयलाई उजागर गर्छ, उहाँले भोगेको हिंसा कुनै साधारण दुर्घटना थिएन, एउटा नियोजित आतङ्क थियो । हतियारको आडमा महिलाको अस्मितामाथि गरिएको हमलाले उहाँलाई शारीरिक रूपमा मात्र नभइ मानसिक रूपमा पनि थिलोथिलो पारेको थियो । तर, उहाँले त्यहीँबाट आफ्नो आत्मसम्मान जोगाउन र न्यायको लागि लड्ने सङ्कल्प गर्नुभयो ।

न्यायको लडाइँः समाज र राज्यविरुद्ध
खड्काको न्यायको लडाइँ धेरै कोणबाट चुनौतीपूर्ण थियो । द्वन्द्वमा यौन हिंसा भोग्ने महिलाहरूले ती ठुला पर्खाल तोड्नुपर्ने थियो,जुन त्यति सहज भने पक्कै थिएन ।

नेपालको पितृसत्तात्मक संस्कारमा यौन हिंसा पीडित महिलालाई समाजले हेर्ने दृष्टिकोण अत्यन्तै सङ्कीर्ण छ । पीडितले नै समाजमा लाञ्छना सहनुपर्ने वा ‘पवित्रता’ को प्रमाणपत्र दिनुपर्ने अवस्था छ ।

यौन हिंसाको दाग मेटिन्छ कि भन्ने डरले परिवारले पीडितलाई नै चुप लाग्न बाध्य बनाउँछन् । खड्काले आफ्ना पीडाका विरुद्ध बोल्ने निर्णय गर्दा उहाँले कति सामाजिक र पारिवारिक दबाब झेल्नुपर्‍यो होला, त्यसको लेखाजोखा गर्न गाह्रो छ । द्वन्द्वकालीन न्याय दिने सरकारी संयन्त्रहरूले सधैँ यौन हिंसालाई मौना विषय बनाउने गरेका छन् । हत्या र बेपत्ताको तुलनामा यौन हिंसालाई ‘अपराध’ मान्न हिचकिचाउने राज्यको नीतिले देवी खड्का जस्ता महिलाहरूलाई न्याय पाउनबाट वर्षौँसम्म वञ्चित राख्यो ।

खड्काको सङ्घर्षले केवल उहाँलाई मात्र न्याय दिलाउने उद्देश्य राखेको थिएन, यो त द्वन्द्वका समयमा यौन हिंसामा परेका हजारौँ महिलाहरूको लागि एउटा ‘नजीर’ बन्यो । उनी न्यायालयका ढोका ढक्ढक्याउन पुगिन्, मानव अधिकार आयोगका कार्यालयहरूमा न्यायको गुहार मागिन् र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको द्वन्द्वको यथार्थ पस्किइन् ।

उहाँको सङ्घर्षले के कुरा स्पष्ट पारेको छ भने, यौन हिंसा पीडित महिलाहरूको सशक्तीकरण भनेको केवल आर्थिक सहायता वा केही थान राहत मात्र होइन । यो त उनीहरूको आत्मसम्मानको पुनःबहाली हो । उहाँले आफूलाई ‘पीडित’ को घेराबाट बाहिर निकालेर ‘लडाकु’ को रूपमा स्थापित गर्ने जुन प्रयत्न गर्नुभयो, त्यो नै उहाँको सबैभन्दा ठुलो विजय हो ।

द्वन्द्वकालीन न्यायः किन अहिलेसम्म अधुरो ?
यौन हिंसालाई द्वन्द्वको हतियारका रूपमा प्रयोग गर्दा महिलाहरूको मन, मस्तिष्क र सामाजिक प्रतिष्ठामा जुन प्रहार भयो, त्यसको घाउ आज दुई दशक बितिसक्दा पनि निको भएको छैन ।

नेपालमा २०६३ सालमा शान्ति सम्झौतामा हस्ताक्षर गरिएको यतिका वर्ष बितिसक्दा पनि द्वन्द्वसँग सम्बन्धित यौन हिंसाका पीडितको न्यायिक माग अझै पनि सम्बोधन हुन सकेको छैन ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगका अनुसार सशस्त्र द्वन्द्वकालमा घटित मानव अधिकारका गम्भीर उल्लङ्घन तथा मानवताविरुद्ध घटनाहरुसँग सम्बन्धित विभिन्न प्रकृतिका गरी जम्मा ६३ हजार ७१८ थान उजुरी आयोगमा दर्ता भएका छन् । त्यसमा बलात्कार तथा यौनजन्य हिंसा विषयमा ३१४ उजुरी परेका छन् ।

नेपालको शान्ति प्रक्रियाको एउटा मुख्य हिस्सा ‘सत्य निरूपण तथा मेलमिलाप’ थियो। तर, दसौँ वर्ष बितिसक्दा पनि पीडितहरूले न्यायको अनुभूति गर्न सकेका छैनन् । खड्काको कथाले हाम्रो न्याय प्रणालीमा रहेका कमजोरीलाई छर्लङ्ग पारिदिन्छ । अपराधीहरूलाई कारबाही नहुनु वा राजनीतिक संरक्षणमा रहनुले पीडितहरूको घाउमा नुनचुक छर्ने काम गरेको छ ।

साथै यौन हिंसालाई द्वन्द्व अपराधको रूपमा सम्बोधन गर्न सक्ने बलियो कानुनी संरचना नहुँदा पीडितहरू अदालतमा जान हिचकिचाउँछन् । त्यसैले अर्को समस्या भनेको पीडित मैत्री कानुनहरु निर्माण नहुनु हो ।

अन्त्यमा, जुन १९ को यो विशेष दिनले हामीलाई केवल ‘स्मृति’ को दिन नभइ ‘प्रतिबद्धता’ को दिन हुनुपर्छ । खड्काको कथाले हामीलाई यो सम्झाउँछ कि न्याय ढिलो हुनु नै न्याय नपाउनुजस्तै हो । द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसले राज्यलाई घच्घच्याउनुपर्छ कि अबको न्याय पीडितको अनुहारमा मुस्कान ल्याउने खालको हुनुपर्छ, न कि केवल फाइल र रिपोर्टमा सीमित ।

देवीको सङ्घर्षको यात्राले नेपाली समाजलाई एउटा यस्तो आधार दिइरहेको छ, जहाँ हिंसाविरुद्ध बोल्नु नै सङ्घर्षको पहिलो खुड्किलो हो । उहाँ न्यायका लागि लडिरहनुहुने छ, र उहाँको साथमा त्यस्ता हजारौँ पीडित महिलाहरू छन् । जसको आवाज अझै पनि पर्दाभित्र छ । अबको न्याय प्रक्रियामा यौन हिंसाको गम्भीरतालाई आत्मसात् गरिएन भने नेपालको शान्ति प्रक्रिया सधैँ अधुरो रहिरहने छ ।

यतिबेला देवी खड्काको साहसलाई सलाम गर्दै, द्वन्द्वमा यौन हिंसाको मारमा परेका सम्पूर्ण महिलाहरूको न्यायको लागि आवाज उठाउने प्रण गर्नुपर्छ । न्यायको पर्खाइमा रहेका ती आँखाहरूले अब ढिलाइ होइन, दोषीलाई कारबाही र आफूलाई सम्मान खोजिरहेका छन् । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...