- जनार्दन घिमिरे
गुल्मी, ९ मङ्सिर । गुल्मीको पर्यटकीय क्षेत्रका रुपमा चिनिने विचित्र गुफा यतिबेला पर्यटकको पर्खाइमा छ । सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवम् बाह्य पर्यटकका लागि मुख्य आकर्षक गन्तव्यस्थल मानिन्छ । धार्मिक एवम् पर्यटककीय महत्त्व बोकेको उक्त गुफा यतिबेला थप आन्तरिक एवम् बाह्य पर्यटकको प्रतीक्षामा छ ।
विचित्र गुफा जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा पर्दछ । धुर्कोट गाउँपालिका–५ स्थित वस्तुमा रहेको उक्त गुफा पर्यटकहरुका लागि आफैँमा साँच्चिकै विचित्रको छ । विसं २०४५ मा बारीमा मकै खान गएको ढेँडुबाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलोपटक उक्त गुफा पत्ता लगाउनुभएको थियो । भण्डारीले आफ्नो बारीमा मकै खान आएको अवस्थामा ढेँडुबाँदरलाई देखेर लखेट्दै जाने क्रममा उक्त ढेँडुबाँदर एकाएक पहरा (चट्टान) को बीचमा रहेको सानो प्वालबाट भित्र पसेको बताइन्छ । पछि स्थानीयको केही समूह राँको बालेर ढेँडुबाँदर पसेको ठाउँ हेर्दै जाँदा त्यस क्षेत्रमा ठुलो गुफा रहेको पत्ता लगाएको स्थानीय युवराज भण्डारीले बताउनुभयो ।
गुफा पत्ता लागेपछि विगत लामो सयमदेखि विचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गर्दथ्यो । पछिल्लो समयमा बाह्य क्षेत्रमा समेत विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि गुफा हेर्नका बेलाबेलामा विदेशी पर्यटकहरु समेत आवागमन बढ्न थालेको हो । विगतको समयमा फाटफुट रुपमा केही विदेशी नागरिक गुफा हेर्नका लागि आउने गरे पनि पछिल्लो समयमा फ्रान्स जर्मनी र बेलायतका नागरिकहरु पर्यटककै रुपमा गुफा हेर्नका लागि आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताउनुभयो । धेरै विदेशी नागरिकहरु सिर्सेनीमा रहेको अरबिन्द्र आश्रममा योग साधनाका लागि आएका अवसरमा एकपटक गुफामा पुगेर फर्कने गरेको अध्यक्ष पोख्रेलले बताउनुभयो ।
विचित्र गुफाको लम्बाइ १८५ मिटर छभने चौडाइ ३५० मिटर रहेको छ । ठुलो र चौडा भूभागमा फैलिएका गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारहरुको प्राकृतिक आकार देख्न सकिन्छ । विचित्र गुफा बाहिरको प्रकृतिक सुन्दरताले गुफाको थप सौन्दर्यता बढाएको छ । गुफामा पुग्ने आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई त्यहाँको इतिहास तथा धार्मिक महत्वका बारेमा जानकारी गराउने प्रचलन छ । गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरुमा देखिने विभिन्न आकृतिहरुले एकपटक सबैको ध्यान केन्द्रित गर्दछ ।
विचित्र गुफाको मुख्य आकर्षण भनेकोे ‘स्वर्ग जाने बाटो’ हो । यो धार्मिक दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्माहरु मात्र भित्र पस्न सक्छन् भन्ने मान्यता छ । स्वर्गजाने बाटो एकदमै साँगुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृश्य हात्तीको भीमकाय शरीर हो । त्यहाँ प्राकृतिक रुपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रुपमा देख्न सकिन्छ । त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएको कारण उक्त ठाउँलाई विचित्रताको अन्तिम दृश्यका रुपमा मानिन्छ ।
जुन मानिस उक्त स्वर्ग जाने बाटो भित्र छिर्न सक्छन् उनीहरुले आफूलाई साह्रै भाग्यमानी सम्झने गर्दछन् । गुफाभित्र रहेका विभिन्न जनावरका आकृतिले गुफाको सौन्दर्यतालाई थप शोभा थपिदिएको छ । गुफाको पर्यटकन प्रवद्र्धन तथा संरक्षणका लागि स्थानीय पालिका, प्रदेश र सङ्घबाट गरी दुई करोडभन्दा बढी लगानी भइसकेको गाउँपालिका अध्यक्ष पोख्रेलले बताउनुभयो । सदरमुकाम तम्घासबाट १८ किलोमटरको दुरीमा रहेको उक्त गुफामा पुग्न यातायात र पैदल मार्ग हुँदै सजिलै पुग्न सकिन्छ । –रासस