स्थानीयले द्वन्द्वकालमा जलेका लालपुर्जा २३ वर्षपछि पाए

8

खाँदबारी, ४ मङ्सिर । सङ्खुवासभाको चैनपुर नगरपालिका–८ र ९ का जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएका छन् । द्वन्द्वकालमा आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षसम्म लालपुर्जाबाट वञ्चित चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका हुन् ।

विसं २०५९ वैशाख १४ गते तत्काली माओवादी द्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा भएको आगजनीका कारण क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता (मोठ)लगायत महत्त्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका थिए ।

तत्कालीन बेला आगलागीमा नष्ट भएका चैनपुर–८ र ९ का एक हजार १९० जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएका विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार नापनक्सा सकिएका चैनपुर–९ का ६२७ र वडा नम्बर ८ का ५६३ जग्गाधनीले लालपुर्जा पाएका छन् । कागजात नभएकाले स्थानीयले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए । विसं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनःस्थापनाका लागि विशेष नापी कार्यालय स्थापना गरिएको थियो ।

हाल विशेष नापी कार्यालयले सङ्खुवासभाका चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकामा नापनक्सा तथा लालपुर्जा वितरणको काम गरिरहेको प्रमुख नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार सीमित स्रोतसाधन र जनशक्तिका कारण चार पालिकाको २४ हजार हेक्टरमध्ये हालसम्म सात हजार ५०० हेक्टरको नापनक्सा सम्पन्न भइसकेको छ ।

कार्यालय प्रमुख नेपालले चैनपुर–५, ७, ८, ९, १० र ११ मा नापनक्सा सम्पन्न भइसकेको जनाउँदै नक्साका लागि संवेदनशीलता र प्रक्रियाका कारण चार पटकसम्म लाग्ने उल्लेख गर्नुभयो । बसाइँसराइले जनसहभागिता कमी, नियन्त्रण विन्दु नभेटिने, पुरानो सफ्टवेयर, घाममा उपकरण बिग्रिरहनेलगायत कारणले नापनक्सा तथा लालपुर्जा वितरणमा केही ढिलाइ भएको कार्यालयले जनाएको छ । -रासस

Share This:
सम्बन्धित खबर
Loading...