डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना

1

काठमाडौँ, ५ असार । डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले उक्त वेश उद्घाटन गर्नुभएको हो ।

डोटीको सदरमुकाम सिलगढीबाट करिब १३५ किलोमिटर पश्चिम दक्षिणी भेकमा स्थापना गरिएको सो वेसमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्धारका आवश्यक सामग्रीसहितको टोली खटिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

यससँगै सशस्त्र प्रहरीमा विपद् व्यवस्थापन बेसको सङ्ख्या १६ पुगेको छ । जसमध्ये बागमतीमा चार, सुदूरपश्चिममा तीन, कोशी, मधेस, गण्डकी र कर्णालीमा दुई–दुई र लुम्बिनी प्रदेशमा एक वटा बेस स्थापना गरिएको छ ।

सशस्त्र प्रहरीले गत वैशाख महिनामा चतरा (सुनसरी), भारदह (सप्तरी), भकुण्डेवेशी (काभ्रेपलाञ्चोक), आरुघाट (गोरखा), बालडाँडा (जुम्ला) र डुडेझरी (कैलाली)मा विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो ।

धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा सशस्त्रको विपद् व्यवस्थापन वेस सञ्चालनमा छ ।

सिन्धुलीको खुर्कोट र म्याग्दीको नारच्याङ बेसमा सशस्त्रका गोताखोर तैनाथ छन् भने अन्यमा तालिम प्राप्त टोली रहेको उहाँले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...