पोखरा, १५ असोज । दसैँलाई लक्षित गरी पोखरा–१ स्थित टुँडिखेलमा सञ्चालन गरिएको अस्थायी बजारमा मानिसहरुको भीड देखिएको छ । कपडा, जुत्ता, खेलौना र घरायसी सामग्री सस्तो मूल्यमा पाइने भएकाले बिहानदेखि बेलुकीसम्म किनमेल गर्नेहरूको भीड बढेको व्यापारीहरूले बताएका छन् ।

खुला मैदानभर कपडाका थुप्रा सजाएर बिक्री भइरहेका छन् भने विभिन्न स्टल र छाप्रामा दैनिक उपभोग्य वस्तुहरू राखिएका छन् । मेलाको आकर्षणका रूपमा फेरि–चक्र (फेरिस ह्विल) र बालबालिकाका लागि विभिन्न खेल सामग्रीहरू पनि राखिएका छन् ।

स्थानीयवासीहरूका अनुसार दसैँको तयारीका लागि यो अस्थायी बजारले विशेष सहजता पुर्याएको छ। व्यापारी र सर्वसाधारण दुबैको भीडले टुँडिखेल क्षेत्रमा मेलामय वातावरण सिर्जना गरेको छ ।


तस्बिरहरु : सविन सुनार/नेपाल न्यूज बैंक