काठमाडौँ, १२ असोज । नेपालीको महान् चाड दसैँको चहलपहल सुरु भइसकेको छ । दसैँमा किनमेल गर्नेदेखि घर जानेहरूको क्रम बढिरहेको छ । घर जानका लागि टिकटको व्यवस्था मिलाउन पनि सबै जना लागिपरेको देखिन्छ । एक वर्षमा आउने चाड दसैँ सबैका लागि महत्त्वपूर्ण हुन्छ । त्यो बेला सबै परिवार एकै ठाउँ बसेर रमाइलो गर्ने अवसर पनि जुट्छ ।
यसैगरी कलाकार र संगीतकारहरु पनि कोही दसैँमा घर जाने योजनामा छन् भने कोही काठमाडौँ नै बसेर दसैँ मनाउने सोचमा छन् । यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा गायिका बेनिशा पौडेलले भने गाउँतिर गएर साधारण तरिकाले परिवारसँग बसेर दसैँ मनाउने योजना रहेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “दसैँ अरू बेलाको जस्तै परिवारसँग बसेर नै मनाउने हो । दसैँ भनेको नेपालीहरूको महान चाड हो । परिवारसँग बसेर र रमाइलो गरेर, सिम्पल तरिकाले नै मनाउने सोच छ । गाउँतिर गइन्छ होला । चाडपर्वको समयमा गाउँघर नै रमाइलो नै हुन्छ । गीत गाउँदै सबैजना सँगै भएर रमाइलो गर्छौँ । अविस्मरणीय भनेर छैन, तर जे होस्, रमाइलो हुन्छ ।”
साथै, उहाँका अनुसार पहिला सानोमा मनाउने दसैँ र अहिलेको दसैँमा धेरै नै फरक रहेको सुनाउनुहुन्छ । सानो हुँदा दसैँ भनेपछि नयाँ लुगा, मिठा खानेकुरा र पैसा (दक्षिणा) कति आउँछ होला भन्ने कौतुहलता हुन्थ्यो अहिले ठुलो भइसकेपछि दसैँको परिभाषा नै छुट्टै भएको हो कि जस्तो लाग्ने गरेको बताउनुहुन्छ ।
“बाल्यकालको दसैँ र अहिले धेरै फरक लाग्छ । दसैँ भन्नेबित्तिकै पैसा (दक्षिणा) कति आउला भनेर आश लाग्ने, कसले कति देला भएर अपेक्षा गर्ने गर्दथ्यौँ । नयाँ लुगाको खुब सोख हुन्थ्यो । अहिले चाहिँ त्यस्तो खासै नहुँदो रहेछ । एज जति जति बढ्दै गयो, त्यति त्यति खास नलाग्दो रहेछ ।”
२०१८ मा ‘आँखैमा लाउने गाजल सकियो’ भन्ने बोलको गीतबाट सांगीतिक यात्रा सुरु गर्नुभएकी पौडेललाई सानैदेखि नै गीत संगीतमा रुचि थियो । उहाँले स्कूल पढ्दा गीत गाउने गरेकाले पछि परिवारले संगीत कक्षामा भर्ना गरिदिएको सुनाउनुहुन्छ । पहिलो गीतले राम्रो चर्चा पाएपछि अन्य गीत रेकर्ड गर्ने सिलसिलामा उहाँ नेपाल आइडलको मञ्चमा पनि उक्लिनुभएको थियो ।
उहाँले गायिका भइसकेपछि सबै खालको गीत गाउन सक्नुपर्ने भन्दै आफूलाई सबै प्रकारको गीत सुन्न र गाउन मनपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मलाई के लाग्छ भने, एज अ सिङ्गर भइसकेपछि सबै खालको गीत गाउन सक्नुपर्छ । भर्सटाइल पनि बन्नुपर्छ जस्तो लाग्छ । एउटै जोनमा बस्नुभन्दा पनि आफ्नो कम्फर्ट जोनबाट निस्केर सबै खालका गीत गाउने कोसिस गर्नुपर्छजस्तो लाग्छ । किनकी सबै खालको गीतहरू सुनिराखेको पनि हुन्छु । सबै राम्रो लाग्छ ।”
उहाँले हरेक कुराको नकारात्मक र सकारात्मक दुवै पक्ष हुने भन्दै म्युजिकमा आइसकेपछि गाएर भविष्य सुरक्षित गर्नुपर्ने बताउनुहुन्छ । मेहनत गर्न सक्यो भने धेरै प्रकारका अवसरहरु प्राप्त गर्न सकिनेमा उहाँ आशावादी हुनुहुन्छ । उहाँले भन्नुभयो, “म्युजिकमा प्रवेश गरिसकेपछि गीत गाएर मात्र जीउन नसकिएला तर यसभित्र अनेक क्षेत्रहरुमा लागेर जीवन चलाउन सकिन्छ । गिटार सिकेर सिकाउन सकिन्छ । संगीत टिचर बन्न पनि सकिन्छ । एरेन्ज सिकेर अरुलाई सिकाउन सकिन्छ ।”
‘यस्तो माया, आँखैमा, पर्दैन पर्दैन मलाई फकाउन, मुरली तिरिरी, सम्बन्ध, बस पर्खेर’ लगायतका हिट गीत गाउनुभएकी बेनिशा झापा दमक निवासी हुनुहुन्छ ।