काठमाडौंमा करिब दश हजार संक्रमित : ८० जनाको संक्रमणबाट मृत्यु

117

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना भाइरस संक्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८ सय २५ जना कोरोना भाइरसबाट संक्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नम्बर वडाका छन् जहाँ ८ सय ७१ संक्रमित भएका छन् ।

त्यसैगरी वडा नम्बर ३, ११, १३, १६ मा पनि ५ सय बढी संक्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । होम आइसोलेसनमा बस्नेको सङ्ख्या दुई हजार ९ सय ९० रहेको छ । अस्पतालमा उपचार गराइरहेका ५ सय ७२, संस्थागत आइसोलेसनमा ५ सय ८३ रहेका छन् । पाँच हजार ५ सय ९ जना निको भएर घर फर्किसकेको कामपाको भनाइ छ । प्रमुख कुँवरका अनुसार संक्रमणको कारण ८० जनाको मृत्यु भएको छ ।

सरकारले भने अनुरुप पछिल्लो समय भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचक्र्याइँ बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिकजसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको प्रमुख कुँवरको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिकी सञ्चालन गर्नका लागि बजार खुला गरे पनि नागरिकहरु स्वयं सतर्क रहन आवश्यक रहेको बताउँदै आएको छ । अहिले देशभरिको कूल संक्रमितको सङ्ख्या ८२ हजार ४ सय ५० पुगेको छ । उनीहरुमध्ये ५ सय २० जनाको मृत्यु भएको छ भने ६० हजार ६ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २१ हजार २ सय ३४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११ हजार ७ सय ६० होम आइसोलेसनमा छन् । नौ हजार ४ सय ७४ संस्थागत आइसोलेसनमा छन् । यसमध्ये २ सय १० आइसियु र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...