युवकलाई छुरा प्रहार गरी हत्या गर्ने युवती पक्राउ

42

धनुषा, ५ साउन । धनुषा प्रहरीले एक जना युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका ४ बस्दै आएकी २१ वर्षीया जुली झा रहेकी छन् ।

पक्राउ परेकी झाले महोत्तरी गाउँपालिका १ पर्साका ३२ वर्षीय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ । उनीहरुबीच लामो समयदेखि चिनजान र आर्थिक लेनदेन समेत रहेको पाइएको छ ।

गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका २३ स्थित रहेको एसपी एण्ड गेस्ट हाउसको कोठा नम्बर १०२ मा अभियुक्त झा र मृतक यादव बसेका थिए ।

सोही राति करिब ३ बजे मृतक यादव नग्न अवस्थामा होटलको पहिलो तल्लाबाट शरीर भरी काटिएर रगत निस्किरहेको अवस्थामा तल झरेको सिसिटिभी फुटेजमा देखिएको धनुषा प्रहरीको भनाइ छ । त्यसको केही मिनेटपछि अभियुक्त झा होटलको पछाडि गेटबाट भागेको समेत सिसिटिभी फुटेजमा देखिएको जनाइएको छ ।

घटनाको जानकरी प्राप्त भएलगत्तै प्रहरी चौकी जिरोमाइलबाट खटिएको टोलीले छटपटाइरहेको अवस्थामा रहेका यादवलाई एम्बुलेन्समा राखी अस्पताल पुर्‍याएका थिए । तर, यादवको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

धनुषा प्रहरीले अभियुक्त जुली झालाई आइतबार १२ बजे धनुषाबाट महोत्तरीको परौल स्थानतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...