खाँदबारी, ३० जेठ । जिल्ला प्रहरी कार्यालयले सामाजिक सञ्जालमार्फत् चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालबाट फोटो, भिडिओ सार्वजनिक गर्दै चरित्रहत्या गरेकाले उनीहरूलाई विद्युतीय अपराधअन्तर्गत पक्राउ गरिएको हो ।
भोजपुर जिल्लाको षडानन्द नगरपालिका–१ का २९ वर्षीय सुजन भुजेल र सोही ठाउँमा २१ वर्षीय बिपल राई उपर उजुरी परेकाले उनीहरूलाई सदरमुकाम खाँदबारीबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ परेका भुजेल र राईमाथि सङ्खुवासभा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा विद्युतीय अपराधमा यो वर्ष तीन जना पक्राउ परिसकेका छन् ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ ले कसुरमा पाँच वर्षसम्म कैद वा एक लाखसम्म जरिबाना वा दुवै हुनसक्ने व्यवस्था छ ।