वातावरण संरक्षणमा नेपालको ठुलो योगदान छ : महासचिव पोखरेल

7

काठमाडौँ, १ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विश्व वातावरण संरक्षणमा नेपालको ठुलो योगदान रहेको बताउनुभएको छ ।

एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले आज यहाँ आयोजना गरेको ‘सगरमाथा संवादको स्थानीयकरण, जलवायु सशक्तीकरण र विपद् न्यूनीकरणका लागि राजनीतिक प्रतिबद्धता’ विषयक कार्यक्रममा उहाँले वातावरण संरक्षणमा नेपालले गरेको योगदानको मूल्य पाउनुपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय समुदायले उत्सर्जन गरेको कार्बनको मार नेपालजस्ता मुलुकले खेप्नु परेको भन्दै महासचिव पोखरेलले सगरमाथा संवाद यसबारे ध्यानाकर्षण गर्न सक्षम हुनुपर्ने बताउनुभयो । “जलवायु परिवर्तनले हिमालको अवस्था निकै जोखिमपूर्ण रहेको छ । हिमाली क्षेत्रमा रहेका मानवबस्ती र त्यहाँ बनेको पूर्वाधार सबैभन्दा जोखिममा छन् । यसबारे संवादले विश्वसमुदायको ध्यानाकर्षण गराउनुपर्छ,” उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले पहाडी क्षेत्रमा जमिनको खनजोत घट्दै जाँदा डढेलो जोखिम अझ बढ्दै गएको र कृषि प्रणालीमा आएको परिवर्तनले नै वातावरणलाई प्रभाव पारेको उल्लेख गर्नुभयो । “पहिले पराल र गहुँको भुस पशुको आहारका लागि प्रयोग हुने गर्थ्यो तर हाल पराल र गहुँको भुसमा आगो लगाइन्छ । त्यसले पनि वातावरणमा असर पारेको छ”, उहाँले भन्नुभयो ।

विभागका प्रमुख खिमलाल भट्टराईले सगरमाथा संवादबाट मुलुकले फाइदा लिनुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि नेपाल सशक्त प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...