काठमाडौँ, २९ वैशाख । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अझै पनि संरचनागत र सामाजिक अवरोधहरु विद्यमान रहेको बताउनुभएको छ ।
इनिसियटिभ्स अफ मिडिया वुमन (आइएमडब्ल्यु)ले आइतबार साँझ बंगलादेशस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा ढाकास्थित दूतावासमा आयोजना गरेको ‘नेपाल र बंगलादेशका पत्रकार महिलाबीच अन्तरक्रिया’ मा उपसभामुख रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागिताका लागि संरचनागत र सामाजिक अवरोध विद्यमान रहेको बताउनुभयो ।
“महिला पत्रकारले अहिले पनि धेरै चूनौतीको सामना गर्नुपरेको छ, ती चुनौतीको सामाना गर्दै अघि बढनुपर्छ”, उहाँले भन्नुभयो, “सबै बाधा, अवरोध, चुनौतीलाई हटाउन संयुक्त प्रयास आवश्यक छ ।” उपसभामुख रानाले विगतको तुलनामा मिडिया क्षेत्र प्रगतिशील हुँदै गइरहेको र अझै थप विकासमा पहल गर्नुपर्ने भनाइ थियो ।
बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले महिला पत्रकारले वञ्चित तथा आवाजविहीन समुदायका विशेष कथाहरु उजागर गर्न खेलेको महत्त्वपूर्ण भूमिकाको महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले नेपाल र बङ्गलादेशका महिला पत्रकारलाई एकसाथ ल्याएकोमा आइएमडब्ल्युलाई विशेष धन्यवाद व्यक्त गदै यस्ता कार्यक्रमले जनस्तरमा सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा इनिसियटिभ्स अफ मिडिया वुमन (आइएमडब्ल्यु)का अध्यक्ष लक्ष्मी भण्डारीले सञ्चार क्षेत्रमा कार्यरत महिला पत्रकारले गदै आएका प्रयास बारेमा जानकारी गराउनुभयो । उहाँले दुई देशका महिला पत्रकारले दीर्घकालीन मित्रता प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले थप टेवा पुर्याउने आशा व्यक्त गर्नुभयो । उहाँले नेपाल–बङ्गलादेश महिला पत्रकारले भोग्दै आइरहेका समस्या र चुनौती समान भएको भन्दै छलफलमा विभिन्न विषय उठान गर्नुभएको थियो ।
दक्षिण एशियाकै सबैभन्दा ठुलो महिला समाजिक संस्था ‘ठेंगमरा महिला सबुज्ज सङ्घ (टिएमएसएस)’ की संस्थापक तथा कार्यकारी निर्देशक प्राडा हुस्ने आरा बेगमले नेपाल र बङ्गलादेशका महिला पत्रकारबीच यस किसिमको अन्तरक्रियात्मक छलफल कार्यक्रम पहिलो पटक भएको बताउदै खुसी व्यक्त गर्नुभयो ।
दुई देशबीचको समबन्ध विस्तारमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा दुई देशका ५० भन्दा बढी महिला पत्रकारले कार्यक्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका विषयमा आवाज उठाएका थिए ।