जनताको जीवन सहज बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री सिंह

33

काठमाडौँ, २७ वैशाख । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली जनताको जीवन सहज गर्ने लक्ष्य पूरा गर्नका लागि सरकार अगाडि बढिरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित पानी शुद्धिकरण प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले जनताको जीवनस्तर उकास्ने हिसाबमा सरकार अगाडि बढेको भन्दै देशको व्यवस्था परिवर्तन गर्न केही समय लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म विनम्रताका साथ के भन्न चाहान्छु भने हामी यो राजनीतिमा किन लागि रहेका छौँ, भने देश र जनताको राम्रो होस् । यो आम नेपाली जनताको चाहना भनेको हरेकको जीवन सहज हुनुपर्‍यो भन्ने छ त्यो लक्ष्य पूरा गर्नका लागि हामी अगाडि बढिरहेका छौँ । तर, देशको व्यवस्था परिवर्तन गर्नका लागि समय लाग्छ । छिटो होस् भन्ने सबैको चाहाना हो, तर अहिलेको अवस्थाभन्दा राम्रो अवस्थामा पुग्नका लागि समय लाग्छ । अवस्था परिवर्तन भए पनि व्यवस्था परिवर्तन भएन भन्नेहरुले बोल्ने पाउने अधिकार कहाँबाट पायो त्यो पनि सोच्नु पर्छ ।’

यस्तै, उहाँले योजनाहरु दिगो हुन बनाउनका लागि सरकारको मुख मात्र हेर्ने होइन आफ्नोतर्फबाट पनि पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘योजनाहरु दिगो हुनको लागि संघीय सरकार, प्रदेश सरकार, नगरपालिकाको मात्र मुख ताकेर हुँदैन । त्यसमा आफ्नो ठाउँबाट गर्नुपर्ने काम पनि गर्नुपर्छ । समुदायका लागि बनेको छ भने, त्यो समुदायबाट गर्न सक्ने कामहरु गर्नुपर्छ ।’

विगतमा कमिकमजोरी भएकै कारण धोबी खोलामा गइरहेको ढललाई व्यवस्थापन हुन नसकेको भन्दै अब यी खोलाहरु स्वच्छ र सुधार गर्न प्रतिबद्ध भएर लाग्ने पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...