उडिसा घटनाबारे मन्त्रालय गम्भीर रुपमा अध्ययन गरिरहेको छ : मन्त्री पन्त

25

काठमाडौँ, २२ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिंगा इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्यनरत नेपाली विद्यार्थी प्रिन्सा शाहको मृत्यु भएको घटनाप्रति मन्त्रालय गम्भीर भएर लागेको बताउनुभएको छ ।

सोमबार शिक्षा उपसमितिको बैठकमा उहाँले मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई विश्वविद्यालयमा कुन कुन एजेन्सीबाट विद्यार्थी पठाउने गरेको ती एजेन्सीहरुसँग बसेर घटनाको छलफल गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई विश्वविद्यालयमा कुन कुन एजेन्सीबाट विद्यार्थी पठाउने गरेको छ, ती मान्छेहरु पत्ता लगाउनु र उनीहरुसँग एक पटक बसेर कसरी यस्तो घटना भयो छलफल गर्नुपर्‍यो भनेर निर्देशन पनि दिएको छु । यसमा काम भइरहेको छ ।’

यस्तै, यो घटना घट्ना साथ मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई तत्काल परराष्ट्रसँग समन्वय गरेर यस बारेमा विस्तृत जानकारी लिन निर्देशन दिएको भन्दै यस बारेमा मन्त्रालयले आवश्यक समन्वय पनि गरेको बताउनुभयो ।

यसैगरी, विद्यालय शिक्षा विधेयकलाई टुंगो लगाउनका लागि गठन गरिएको संसदीय उपसमितिको म्याद १० दिन थप भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमाले सचिवसमेत रहेका छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिको म्याद १० दिन थप भएको हो ।

उपसमितिले पाएको ३५ दिनको समयसीमा हिजो सकिएको थियो । अझै केही छलफल/निर्णय बाँकी रहेको भन्दै उपसमितिले म्याद थप मागेको थियो । समितिका सभापति अम्मरबहादुर थापाले सोमबारको बैठकमा १० दिनको म्याद थपका लागि गरेको प्रस्ताव पारित भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...