काठमाडौँ, २० वैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकरमा दलाल पुँजीवादी पार्टीहरु रहेकाले जनताको हितमा नीति तथा कार्यक्रम नबनेको बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको समस्या समाधान नगर्ने बताउनुभयो ।
‘अहिले दुई वटा पार्टीको सरकार छ एउटा पार्टी दलाल पुँजीवादी पार्टी हो । त्यो पार्टीले जनताको समस्या समाधान गर्ला भनेर आम जनताले सोचेकै छैन । किनभने त्यो समस्या समाधान गर्ने उनीहरुसँग नीति पनि छैन, कार्यक्रम पनि छैन । हिजो पनि छैन, आज पनि छैन । अहिले बजेट आयो त्यहाँ पनि छैन । यो बजेट त नेपाली कांग्रेको मात्र त हैन, सरकारमा ७ वटा पार्टी छन् । दोस्रो ठुलो पार्टी नेकपा (एमाले)ले पनि ल्याएको नीति कार्यक्रम हो तर यो नीति कार्यक्रममा कांग्रेसको नीति र कार्यक्रमभन्दा भिन्न केही छैन । यो दुःखद् कुरा हो,’ उहाँले भन्नुभयो ।
नेता खनालले सरकारमा भएको पार्टीले ल्याएको नीति कार्यक्रमबाट आफूहरु फरक बाटो हिँड्नुपर्नेमा स्पष्ट भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो,‘यो पार्टीले शोषण अन्यायमा परेका जनताहरुको समस्याहरु समाधान गर्न सक्दैन भन्ने कुरा हिजोको नीति तथा कार्यक्रमले प्रष्ट भयो । त्यसो हुनाले हामी फरक बाटो हिँड्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट भएका छौँ । पुँजीवादी संघीय गणतन्त्रले जनताका आधारभूत आवश्यकता पूरा गर्न सक्दैन । पुँजीवादी आफैँ शोषणको व्यवस्था हो ।’
उहाँले अहिलेको व्यवस्थासँग लडाइँ गर्दै आफ्ना मागहरु पूरा गर्ने तर समस्या हल गर्छ भनेर आशा नगर्ने बताउनुभयो । उहाँले समाजवादी व्यवस्था नआएसम्म आवश्यकता पूरा नहुने भन्दै समाजवादी क्रान्ति आजको आवश्यकता रहेको पनि बताउनुभयो ।