काठमाडौँ, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सरकार थाकेर, हारेर, कल्पनाशीलता गुमाएर नीति तथा कार्यक्रम ल्याएको भन्दै यसमा कुनै पनि नयाँपन नभएको बताउनुभएको छ ।
शुक्रबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो सरकार पुरै थाकेर, हारेर, कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेको छैन । केही पछिल्ला वर्षहरुमा सुनेका कार्यक्रमहरुलाई नै निरन्तरता दिएको देखिन्छ । ०७४ को चुनावपछि दुई तिहाइको सरकार बन्दा पूरा गर्न नसकिने हावादारी भएपनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो तर, आज यो सरकारमा कल्पनाशीलता कतै पनि देखिँदैन ।’
साथै उहाँले यो सरकार यति बलियो हुँदा पनि कतै ल्याएको नीतिमा कल्पनाशिलता नदेखिएको बताउनुभयो । उहाँले सरकारले ल्याएकोे नीति तथा कार्यक्रमको आकार सरकारले घटाएर ल्याएको बताउनुभयो ।
यसैगरी रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी नीति तथा कार्यक्रम थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम भएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले ल्याएकोे नीति तथा कार्यक्रमको फेल भइसकेको पुरानै कार्यक्रम भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम हो । सबै फेल भइसकेका कार्यक्रमहरू दोहोर्याइएको छ । नयाँ कुरा केही पनि छैन । वर्तमान प्रधानमन्त्री ओलीजीले २०७४ सालमा दुई तिहाइको प्रधानमन्त्री हुँदा कम्तीमा पनि हावादारी कार्यक्रमको एउटा कल्पनाशीलता थियो । अहिले त हावादारी कार्यक्रममा पनि कल्पनाशीलता देखिएन । अहिले एकदम उथलपुथल भइराखेको छ । तर, प्रशान्त महासागरको टापुजस्तो केही थाहा नभएको निरपेक्ष नीति तथा कार्यक्रम आएको छ।’