काठमाडौँ, १६ वैशाख । सन् २०२४ मा विश्व मानवअधिकारको अवस्था चिन्ताजनक रहेको विश्व मानव अधिकार प्रतिवेदनले देखाएको छ । एम्नेस्टी इन्टरनेसनलले आज सार्वजनिक गरेको ‘सन् २०२४ को विश्व मानवअधिकार अवस्था’ नामक प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था चिन्ताजनक भएको देखाएको हो ।
प्रतिवेदनमा सम्पूर्ण मानव जगतलाई अधिनायकवादी अभ्यास र कर्पोरेट जगतको लालच अन्तघुलित भएको एउटा क्रुर नयाँ युगतर्फ धकेल्दै गएको उल्लेख गरिएको छ ।
एम्नेस्टीले १५० देशको मानव अधिकार अवस्थामा अवलोकन गरी तयार पारिएको प्रतिवेदनमा विश्वव्यापीरूपमा नै मानवअधिकार सङ्कट पैदा हुने जनाएको छ । प्रतिवेदनले विश्वभरी भइरहेको अधिनायकवादी अभ्यासले विमतिप्रति निर्मम दमन भएको उल्लेख गरेको छ ।
प्रतिवेदनले जलवायु सङ्कटलाई सम्बोधन गर्न, बढ्दो असमानतालाई उल्ट्याउन र कर्पोरेट शक्तिलाई नियन्त्रण गर्नमा भएको सामूहिक विफलताका कारण विश्वले भावी पुस्तालाई सदाभन्दा झन कठोरतातर्फ धकेलिरहेको प्रमाण प्रस्तुत गरेको छ ।
नयाँ प्रविधिलाई पर्याप्त रूपमा नियमन गर्न विफल भएर, निगरानी उपकरणको दुरूपयोग गरेर र आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगमार्फत विभेद् र असमानताको जरालाई अझ गहिराइमा पुर्याएर सरकारले वर्तमान र भावी पुस्तालाई थप हानी पुर्याइरहेको प्रतिवेदनमा उल्लेख छ ।
मानव अधिकार खोस्न खोज्ने शक्ति र नाफाखोर लापरवाह राज्यसत्ताको विरूद्ध प्रतिरोध गर्नैपर्ने र विशाल र अवचलित आन्दोलन यस धर्तीका सबै मानिसको अन्तर्निहित मर्यादा र मानव अधिकारप्रतिको साझा विश्वासमा सदासर्वदा एकताबद्ध रहने एम्नेस्टीले जनाएको छ ।
एम्नेस्टीले एसिया–प्रशान्त क्षेत्रको सिंहावलोकन गर्दा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख गरेको छ । प्रतिवेदनमा राजनीतिक अस्थिरताले मानवअधिकारको अवस्थामा योगदान पुर्याएको सबैभन्दा धेरै जोखिममा मानव अधिकार रक्षक र अभियन्ता रहेको देखाएको छ ।
अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचित लगाउने, भेला हुने र संघ संगठनको प्रदर्शनमाथि दमन, जलवायु परिर्वतनले थप विषाक्त वायु प्रदूषणको मारमा परेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा एम्नेस्टी इन्टरनेसनलका अध्यक्ष विपिन बुढाथोकी र प्रयन्त नेपालका अध्यक्ष सरिता लामिछानेले संयुक्तरूपमा उक्त प्रतिवेदनको सार्वजनिक गर्नुभएको थियो । उहाँहरूले नेपालमा पनि मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्नुभयो ।
एम्नेस्टी इन्टरनेसनलले निर्देशक निराजन थपलियाले प्रस्तुत गर्नुभएको उक्त विश्व मानव अधिवकार प्रतिवेदनमा सन् २०२४ मा ३०० पत्रकार मारिएको र त्यसमध्ये प्यालेस्टेनी पत्रकार १०० रहेको उल्लेख छ । “सन् २०२४ मा विश्वभरि नै मानव अधिकारको अवस्था चिन्ताजनक रह्यो,” निर्देशक थपलियाले भन्नुभयो ।