गगन थापाले दिए सरकारबाट बाहिरिने चेतावनी

57

काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आधारभूत कुरामा सम्झौता गर्नुपर्ने अवस्था आएमा सरकारबाट बाहिरिने बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपाली कांग्रेस बाध्य भएर गठबन्धनमा रहेको भन्दै आधारभूत कुरामा पनि सम्झौता गरेर बस्नुपर्‍यो भने सरकारबाट बाहिरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले मैले समस्याको कुराहरु गरें । तर, हामीले समाधान पनि दिनुपर्छ । हाम्रा बाध्यताहरु छन्, एक्लै छैनौँ, सरकारमा छौँ । कतिपय कुरामा कम्प्रमाइज गरेका छौँ । तर, आधारभूत कुरामा कम्प्रमाइज गर्न सक्दैनौँ । हामीले यो भन्न सक्नुपर्छ, परिआएको खण्डमा सरकारबाट बाहिर जान्छौँ । सरकार मात्रै सबैभन्दा ठुलो कुरा होइन ।’

कानुन एवम् संस्था निर्माण गर्ने जस्ता कुरामा सम्झौता हुन नसक्ने भन्दै काङ्ग्रेसले यो भन्न सक्ने क्षमता राख्नुपर्ने पनि उहाँको भनाइ छ ।

यस्तै, उहाँले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होइन नागरिकहरुसँग बसेर संवाद गरेर सुधार गर्दै लानुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘संघीयताले जसरी काम गर्नुपर्ने थियो त्यस हिसाबले गरिरहेको छैन । त्यसैले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होइन । नागरिकहरुसँग बसेर संवाद गर्ने हो । सच्चाउनुपर्ने कुरा सच्चाउने हो ।’

Share This:
सम्बन्धित खबर
Loading...