शिक्षकहरुको न्यायोचित मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्छ : सुमना श्रेष्ठ

14

काठमाडौँ, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उहाँले शिक्षकहरुको आन्दोलनले गर्दा बच्चाहरुको पढ्न पाउने अधिकार गुमिरहेको भन्दै शिक्षकहरुलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो वैशाख १४ गते प्रहरीहरुले शिक्षकहरुमाथि जुन दमन भयो त्यसले गर्दा दर्जनौँ शिक्षकहरु अस्पतालमा छन् । उहाँहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्‍यो, शिक्षाको बजेट कति छ त्यो सरकारले यहाँ आएर भन्नुपर्‍यो र शिक्षकहरुलाई पनि भन्नुपर्‍यो, पठनपाठनको अवस्था बनाउनुपर्‍यो । हाम्रो बच्चाहरुको पढ्न पाउने अधिकार गुमिरहेको छ । शिक्षकहरुलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग पनि गर्न चाहन्छु ।’

यस्तै, उहाँले शिक्षकहरुले शिक्षा ऐनमा राखिएको कुरा र राजनीतिक दलहरुले राजनीतिक दलसम्बन्धी ऐनले भनेको कुरा पालना गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शिक्षकहरुलाई पनि भन्न चाहान्छु, शिक्षा ऐनमा राखिएको कुरा तपाईंहरुले पनि पालना गर्नु राजनीतिक दललाई पनि भन्न चाहान्छु राजनीतिक दलसम्बन्धी ऐनले शिक्षकहरुलाई राजनीतिक सदस्यता दिनु हुँदैन भनेर जुन भनेको छ त्यसको पालना गर्नु र राज्य अधिनायकवादतर्फ लम्किँदै हुनुहुन्छ यसमा आपत्ति जनाउछु ।’

उहाँले यो राज्य अधिनायकवाद र अत्याचारतर्फ हिँडिरहेको भन्दै यसमा गम्भीर ध्यानाकर्षण समेत गराउनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...