राजेन्द्र लिङ्देनलाई कांग्रेसको प्रश्न : रक्सी चोरेको प्रमाणित गर्न सक्नुहुन्छ ?

34

काठमाडौँ, १४ वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सहमहामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिनुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको बोल्दै प्रमुख सचेतक घिमिरेले लिङ्देनलाई प्रमाणित गर्न नभएर कांग्रेसलाई लाञ्छित गरेको आरोप संसद्को रेकर्डबाट हटाउन उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वैशाख १२ गते बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षज्यूले चैत १५ को घटनामा भाटभटेनीमा लुटपाट भयो । त्यो लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको मसँग प्रमाण छ र त्यसको भिडिओ फुटेज छ । उहाँलाई प्रकाउ गरियो, प्रकाउ गरिसकिएपछि सहमहामन्त्रीको छोरो हो भनेपछि छुट्याइयो भनेर रोष्ट्रमबाटै अभिव्यक्ति दिनुभयो । सहमहामन्त्री नेपाली कांग्रेसमा मात्रै भन्ने चलन छ । अन्य पार्टीमा सहमहामन्त्री भन्ने प्रचलन छैन । त्यसकारण नेपाली कांग्रेसलाई इङ्गित गरेको हो भनेर बुझ्न गाह्रो भएको छैन । र सहमहामन्त्री ८ जना हुनुहुन्छ कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो ? त्यो प्रमाणित गर्नका लागि आग्रह गर्दछु । होइन भने शब्द फिर्ता लिएर माफी माग्नुपर्छ ।’

चैत १५ गतेको घटना भन्दै राप्रपा अध्यक्ष लिङ्देनले वैशाख १२ गतेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सहमहामन्त्रीको छोरा भाटभटेनीको सामान लुटपाटमा संलग्न रहेको, प्रहरीले पक्राउ गरे पनि छाडेको अभिव्यक्ति दिनुभएको थियो ।

उक्त कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके क्षमायाचना गर्न कांग्रेस प्रमुख सचेतक घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकबाट माग गर्नुभएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...