अहिलेको सरकारले पटक्कै सुशासन दिन सकेको छैन : शेखर कोइराला

15

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि सुशासन पटक्कै दिन नसकेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले सरकारमा हुने मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने बाध्यता रहेको भन्दै सत्ता पक्षमा भएको तर सरकारमा नभएको कांग्रेसको नेताहरुको काम सरकारलाई खबरदारी गर्ने रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म के भन्छु भने नेपाली कांग्रेस र एमाले सरकारमा छौँ । सुशासनको लागि त कुरा गर्नुपर्‍यो, अगाडि बढाउनुपर्‍यो । भन्न त मिल्दैन तर सुशासन पटक्कै छैन भने पनि हुन्छ । उहाँहरुलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ । मन्त्रिपरिषद्मा जान्छ । उहाँहरुलाई मन लाग्यो भने तेस्रो नम्बरलाई लिनुहुन्छ । त्यसरी जानुभएको छ । मैले जहाँ पनि भनिरहेको छु । कांग्रेस सत्ता पक्षको हो । तर, सरकारमा छैनौं । सरकारमा हुने मन्त्रीहरुले सहकार्य गर्नुहोस् एमालेसँग केही आपत्ति छैन । तर जो सत्ता पक्षमा छौँ तर सरकारमा छैनौँ। हाम्रो काम खबरदारी गर्ने हो ।’

त्यस्तै, उहाँले आज देशको परिदृष्य हेर्दा भयावहक अवस्थामा रहेको बताउनुभयो । गिरिजाप्रसाद बितेको १५ वर्ष भइसक्दा पनि उनीबाट कांग्रेसका नेताहरुले पाठ सिक्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘जुन परिदृष्य देखिरहनुभएको छ, देशको जुन अवस्था बुझिरहनुभएको छ । तर, भयावहक अवस्था देशमा छ । गिरिजाप्रसाद भएको भए के हुन्थ्यो होला त भन्ने लाग्छ होला । उहाँ देशको अवस्थाप्रति अत्यन्तै चिन्तित हुनुहुन्थ्यो । तर, १८–१९ वर्ष भइसक्यो, गिरिजाप्रसाद बितेको पनि १५ वर्ष भइसक्यो । हामीले पाठ नै सिकेनौँ । नेताहरुले हामीहरुले केही पाठ नै सिक्न सकेनौँ ।’

त्यस्तै, उहाँले कांग्रेस कहिले माओवादी त कहिले एमालेकोपछि लागेको भन्दै अब कांग्रेसले यसरी जाने भनेर निर्णय गर्न सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सुजता कोइराला, चन्द्र भण्डारी र भिष्मराज आङ्दाम्बे लगायतले सम्बोधन गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...