विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाउँ बनाएका छन् : सुमना श्रेष्ठ

21

काठमाडौँ, ६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाउँ बनाइरहेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठक पश्चात उहाँले विश्वविद्यालयलाई दलहरुले आफ्नो स्वार्थका लागि प्रयोग गरेको भन्दै यसलाई तत्काल रोक्नु पर्ने बताउनुभयो ।

दलहरुले आफू सभापति, महामन्त्री बन्न विद्यार्थीहरुलाई सिडिको रुपमा प्रयोग मात्र गरिरहेको भन्दै यस्तो तरिकाले विश्वविद्यालय र विद्यालय क्षेत्र कहिले पनि अगाडि बढ्न नसक्ने पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाउँ बनाइरहेका छन् । यसलाई तत्काल रोक्नु पर्छ । यसलाई रोक्नलाई जुन तरिकाले सदन सहज तरिकाले केही पनि नभएको जस्तो गरेर चलिरहेको छ । स्ववियुको निर्वाचनमा के भइरहेको हो, एकदमै झगडाको माहोल बनेको छ । धेरै जनालाई यो विद्यार्थीहरुले गरेको जस्तो लाग्छ तर मलाई लाग्छ यो दलहरुले आफू सभापति, महामन्त्री बन्न विद्यार्थीहरुलाई आफ्नो सिडिको रुपमा प्रयोग मात्र गरिरहेका छन् । यस्तो पाराले विश्वविद्यालय र विद्यालय क्षेत्र कहिले पनि अगाडि बढ्न सक्दैन ।’

यसका साथै उहाँले सदनमा घृणाको राजनीति नगरौँ भनेर भन्ने दलहरुले नै विद्यार्थीहरुलाई एकअर्कालाई कुट भनेर आदेश दिने गरेको भन्दै योभन्दा बढी घृणाको काम अरु केही हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यही सदनमा छन् धेरै जना कमान्डरहरु, सदनमा राम्रो कुरा गर्छन् घृणाको राजनीति नगरौँ भनेर तर बाहिर विद्यार्थीहरुलाई एकअर्कालाई कुट भनेर भन्ने योभन्दा बढी घृणाको काम अरु के हुन सक्छ । तर, यस्तो काम दलहरुले गर्न लगाइरहेको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...