काठमाडौँ, ६ चैत । गोरखा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवारहरू विजयी भएका छन् ।
नेविसंघ र अनेरास्ववियुको प्यानललाई हराउँदै सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित हुनुभएको हो ।
अम्गाईले २०९ मत ल्याउनुभयो भने नेविसंघका रचन परियारले १६१ मत ल्याउनुभयो । त्यस्तै, सचिवमा पनि १९९ मत ल्याएर अखिल क्रान्तिकारीकै रुपेश विश्वकर्मा निर्वाचित हुनुभएको छ । उहाँले अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गर्नुभयो । बोहराले १७१ मत ल्याउनुभएको छ ।
कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै आयुषा अर्याल विजयी बन्नुभयो । अर्यालले २०६ मत ल्याउनुभयो भने नेविसंघकी सविना गुरुङले १६४ मत ल्याउनुभयो ।
सदस्यहरूमा पनि अखिल क्रान्तिकारीका अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित हुनुभएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसमा नेविसंघ र अखिलको प्यानलै विजयी
द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु चुनावमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलै विजयी भएको छ ।
मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित हुनुभयो ।
अखिल क्रान्तिकारीका सचिन खनाललाई १४ मतले पछि पार्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार श्रेष्ठले २१६ मत ल्याएका छन् भने खनालले २०२ मत ल्याउनुभयो ।
त्यस्तै, सचिवमा नेविसंघका सुप्रिज बस्नेत निर्वाचित हुनुभयो । अखिल क्रान्तिकारीका एलन गुरुङलाई मात्र १ मतले पछि पार्दै बस्नेत विजयी बन्नुभएको हो । बस्नेतले २०७ मत ल्याउनुभयो भने गुरुङले २०६ मत ल्याउनुभएको छ ।
त्यस्तै, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका अनुप सिंखडालाई पराजित गर्दै अनेरास्ववियुका असिम श्रेष्ठ निर्वाचित हुनुभयो । सिखंडाले १८३ मत ल्याउँदा श्रेष्ठले २२६ मत ल्याउनुभयो ।
सदस्यहरूमा युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दीप कार्की र बिपना कोइराला विजयी बन्नुभएको छ ।