काठमाडौँ, ३ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमाको स्वरुपको विकल्प खोज्न आवश्यक रहेको बताउनुभएको छ।
आइतबार काठमाडौँमा आयोजित स्वास्थ्य बिमा प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रममा उहाँले बिमाको निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको र यही स्वरुपको बिमा व्यवस्थित गर्न ०८२ सालमा ४० अर्ब हुने देखिएको भन्दै उहाँले सरकारको क्षमताभन्दा बाहिर रहेकाले बिमाको स्वरुपको विकल्प आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘कसको दोष हो म त्यतातिर जान चाहन्न । समस्या के छ भने बिमाका निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको स्थिति छ । बिमाको अनुमानित खर्च ०८२ मा करिब ४० अर्ब हुने देखिन्छ । आगामी कार्यक्रममा सरकारले ४० अर्ब बिनियोजन गर्यो भने मात्रै यही स्वरुपको बिमा व्यवस्थित हुन सक्छ । ४० अर्ब बिनियोजन गर्ने र त्यसपछि आवश्यकताअनुसार बढाउँदै गए राज्यको क्षमता अनुसार सम्भव हुन्छ जस्तो मलाई लाग्दैन । त्यसैले बिमाको होइन यसको स्वरुपमा विकल्पलाई अगाडि ल्याएका हौँ ।’
उहाँले बिमा अहिले जीवनको अभिन्न अंग बनेकाले यसको विकल्प नभई थप व्यवस्थित गर्न खोजिएको बताउनुभयो । आम नागरिकलाई बढीभन्दा बढी कसरी बिमाबाट सेवा उपलब्ध गराउन सकिन्छ भन्नेबारे आफूहरु लागेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘बीमा अहिले हाम्रो जीवनको अभिन्न अंग बनेको छ । यसको विकल्प खोजेको होइन । यसलाई व्यवस्थित गर्न खोजेको हो । यसलाई निरन्तरता दिन खोजेको हो । यसबाट आम नागरिकलाई बढीभन्दा बढी कसरी सेवा उपलब्ध गराउन सकिन्छ त्यसबारे काम गर्न खोजेको हो ।’
स्वास्थ्य बिमालाई अझ प्रभावकारी बनाउन के कस्ता नीतिगत र व्यवहारिक सुधार आवश्यक छन भन्ने विषयहरुमा समाधान खोज्ने पनि उहाँले जानकारी दिनुभयो ।