देशको न्याय प्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह

17

हेटौँडा, २ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुर जिल्ला कमिटीको शनिबार हेटौँडामा भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्नुहुँदै उहाँले देशमा न्याय मरेको टिप्पणी गर्नुभएको हो ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको फाइल न्यायाधीशहरुले खोल्ने आँट नगरेको समेत उहाँले आरोप लगाउनुभयो ।

न्यायलयहरुमा कांग्रेस, एमाले, माओवादीका कार्यकर्ताहरु भर्ती भएको उहाँको बुझाइ छ । सांसद सिंहले अवस्था र व्यवस्थाको परिवर्तन आजको आवश्यक भएको जिकिर गर्नुभयो ।

सांसद सिंहले प्रदेश संरचनालाई देशले धान्न नसक्ने बताउनुभयो । संघीय संरचना नै खारेज गर्नुपर्छ भन्ने आफूहरुको मूल्य र मान्यता रहेको उहाँले जिकिर गर्नुभयो ।

अवस्था र व्यवस्था परिवर्तन गर्न सबैले पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानलाई साथ दिन पनि उहाँले आग्रह गर्नुभयो । सांसद सिंहले सबै जात र धर्मलाई संरक्षण गर्नका लागि राजसंस्था बाहेक अर्को विकल्प नभएको समेत बताउनुभयो ।

सांसद सिंहले अब पार्टीको नेतृत्व युवा पंक्तिहरुले गर्नुपर्ने बताउनुभयो । अधिवेशनले किशोर खत्रीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यंसमिति समेत चयन गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...