सहिदहरुको सपना पूरा गर्न सबै गम्भीर हुनुपर्छ : सभामुख घिमिरे

14

काठमाडौँ, २१ फागुन । सरकारले ‘झापा विद्रोह’ का पाँच सहिदको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । तत्कालीन ‘झापा विद्रोह’ का पाँच सहिदको स्मृति दिवसका दिन हुलाक सेवा विभागले पाँच सहिदको सम्मानमा प्रकाशन गरेको हुलाक टिकहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेको हो ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हुलाक टिकटमा प्रथम दिवसिय टाँचा लगाउनुभएको थियो । सो क्रममा सभामुख घिमिरेले मुलुकको परिवर्तनका लागि योगदान दिएका सहिदको सपना पूरा गर्न सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक क्षेत्रमा प्राप्त गरेका उपलब्धिमा सहिदहरुको योगदान महत्त्वपूर्ण छ, आफ्नो इतिहासमा राजनीतिक क्षेत्रमा नेपालले प्राप्त गरेका उपलब्धिमा सहिदहरुका योगदान के हुन् ? र तिनीहरुका अधुरा सपना पूरा गर्ने जिम्मेवारी के हो ? यो कुरालाई अब हामीले अगाडि लानुपर्छ ।’

साथै, उहाँले जनताको मुक्तिका लागि जीवन अर्पण गर्ने धेरै सहिदहरुभित्र पाँच जना सहिदहरुको हुलाक टिकट प्रकाशन हुनु निकै महत्त्वपूर्ण भएको बताउनुभयो । सभामुख घिमिरेले सहिदहरुको योगदानका कारण मुलुकमा राजनीतिक उद्देश्य सफल भए पनि समाज रुपान्तरणमा भने धेरै चुनौतीहरु देखा परेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘हुलाकको टिकट पहिलो टाँचाको रुपमा लगाएर प्रकाश गर्दाखेरि यो एउटा कागजको टुक्रा बाहिर ल्याएको छ । तर, यो नेपाली जनाताहरुको मुक्तिको लागि आफ्नो जीवन अर्पण गर्ने, नेपालीहरुको समृद्धि र सुविधाका लागि आफ्नो जीवन अर्पण गर्नु हुने र मान्छेले स्वतन्त्र भएर बाच्न पाउनुपर्छ भनेर राजनीतिक हकअधिकार र प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको लागि आफ्नो ज्यान आहुति दिने सहिदहरुको हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नु सबैभन्दा ठुलो कुरा हो ।’

Share This:
सम्बन्धित खबर
Loading...