सिन्धुलीको खाङ्साङमा बन्यो प्रहरीको आफ्नै भवन

23

सिन्धुली, २१ फागुन । सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङ्साङमा नेपाल प्रहरीको आफ्नै भवन बनेको छ । बागमती प्रदेश सरकारको ३ करोड ४६ लाख २१ हजार ५२४ रुपैयाँको लागतमा सो भवन बनेको हो ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला एवम् कानुनमन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले मंगलबार संयुक्त रूपमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गर्नुभयो ।

आरआर बिल्डर्स चरिकोट दोलखाले २०८० असोज १५ गते भवन निर्माण सम्झौता गरेको थियो ।

भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री लामिछानेले नयाँ भवन बनेपछि प्रहरीलाई सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो । उहाँले प्रहरीलाई सुविधा सम्पन्न बनाउँदै लैजाने योजनामा सरकार रहेको सुनाउनुभयो ।

प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले सुविधा थपिएसँग प्रहरीले दिने सेवा पनि थप प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल प्रहरी जस्तो सुकै कठिन परिस्थितिमा पनि देश र जनता प्रति समर्पित हुँदै आएको संस्था भएको स्पष्ट पार्नुभयो ।

फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले चौकीले सामुदायिक सुरक्षा र प्रहरी–जनताको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्ति गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...