भक्तपुर, १६ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफ्नो देश र गाउँ छोड्न नपर्ने गरी रोजगारीको व्यवस्था गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ ।
शुक्रबार भक्तपुरमा आठौँ महाधिवेशन समारोहलाई उद्घाटन गर्नुहुँदै उहाँले सरकारले नेपालका हरेक गाउँ, नगर, जिल्ला र प्रदेशका युवा युवतीहरुलाई विदेश लखेट्ने काम गरेको भन्दै आफ्नो देश र गाउँ छोड्न नपर्ने गरी रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले आफ्नो मानिसलाई रोजगारी दिने नाममा सरकारी ढुकुटी ठाउँ ठाउँमा छर्नु न त समाजवाद हो न त रोजगारीको व्यवस्था गर्नु हो । नेपालका हरेक गाउँ, नगर, जिल्ला र प्रदेशका युवा युवती र कामदारहरुलाई विदेश लखेट्ने होइन जसरी आजको सरकारले गरिरहेका छन् । आफ्नो देश र गाउँ छोड्न नपर्ने गरी रोजगारीको व्यवस्था गर्नु आवश्यक छ ।’
यसका साथै उहाँले सरकारमा गएका कुनै पनि पार्टीसँग उद्देश्य नभएको कारण सबै पार्टीले देशलाई लथालिङ्ग गरेर छोडेको बताउनुभयो ।