विराटनगर, १४ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताउनुभएको छ ।
अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
गत केन्द्रीय समिति बैठकले दायाँबाट बायाँतर्फ सिफ्ट गरेको उल्लेख गर्दै उहाँले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उल्लेख गर्दै उहाँले समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै बसेर समाजवादको अभ्यास गर्ने नीति लिइएको जानकारी दिनुभयो ।
पार्टीकै अर्को निर्णयअनुसार जनतासँग माओवादी तराई मधेस जागरण थालिएको उहाँले जानकारी दिनुभयो ।
अभियानको क्रममा आर्थिक समृद्धिका सम्भावनाको खोजी गर्ने, नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने, सहिद र बेपत्ता परिवारसँग छलफल गर्ने, जनताको घरमा बसेर विविध समस्याको जानकारी लिने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अभियान निकै प्रभावकारी बन्दै गरेको बताउनुभयो ।
हिजोदेखि सामन्ती राज्यले विभेदमा राखेको र आफूहरुले जनयुद्धमार्फत् उनीहरुका मुद्दा उठाएको, त्यहीअनुरूप अधिकार संविधानमा राखिएको तर कार्यान्वयनमा समस्या देखिएकाले त्यसलाई समेत सम्बोधन गर्न हुलाकी मार्ग केन्द्रित अभियान थालिएको उहाँले स्पष्ट गर्नुभयो ।
आगामी वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशकै होचो स्थानबाट थालिएको जनतासँग माओवादी अभियान देशकै उचो ठाउँमा लगेर समापन गरिने बताउनुभयो । यो अभियान स्वरुप र सन्देश दुवै हिसाबले मौलिक हुने उल्लेख गर्दै उहाँले यसले वास्तविक राष्ट्रिय एकता कायम गर्ने बताउनुभयो ।
भर्खरै सम्पन्न अखिल क्रान्तिकारीको चुनावले पार्टीभित्र लोकतान्त्रिक अभ्यास स्थापित गरेको उल्लेख गर्दै उहाँले यसले अरु विद्यार्थी संगठनभन्दा अखिल क्रान्तिकारीलाई नयाँ उचाईमा पुर्याउने बताउनुभयो ।
देशभर पार्टीको पक्षमा माहोल बनिरहेको र पछिल्लो स्थानीय तह उपनिर्वाचले माओवादीलाई १ नम्बर प्रदेशमा पहिलो पार्टी बनाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी स्ववियु निर्वाचनमा पनि अखिल क्रान्तिकारीलाई पहिलो संगठन बनाउन अपिल गर्नुभयो ।