जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेन : प्रचण्ड

22

मोरङ, १३ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र युवादेखि ज्येष्ठ नागरिकसम्मको पार्टी भएको बताउनुभएको छ ।

मोरङको कानेपोखरीमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्नुहुँदै प्रचण्डले माओवादीमा जनमतलाई प्रभाव पार्ने गरी प्रवेशको लहर चलेको दाबी गर्नुभयो । उहाँले माओवादी पार्टीलाई बलियो बनाउने काममा लाग्न पनि सबैमा आग्रह गर्नुभयो । ‘माओवादी केन्द्रलाई बलियो बनाएर मात्रै देशमा विकास र समृद्धि प्राप्त हुन्छ’, प्रचण्डले भन्नुभयो ।

उपनिर्वाचनमा कोशी प्रदेशमा माओवादी एक नम्बर पार्टी भएको उहाँले बताउनुभयो । ‘पूर्वबाट रातो सूर्य उदाएको छ, हामीले यसको लागि प्रयत्न गरिरहेका छौँ, त्यसैको परिणामस्वरूप मधेस केन्द्रित जनतासँग माओवादी अभियान सुरु गरेका छौँ,’ उहाँले भन्नुभयो ।

अहिले गठबन्धनमा रहेका दलहरू उत्पीडितहरूले पाएको अधिकार खोस्ने धुनमा रहेका प्रचण्डले बताउनुभयो । अहिलेका सत्तारुढ दलहरू यो संविधान मिचेर, संसद् विगठन गरेर नागरिकका अधिकार खोस्ने प्रयत्नमा रहेका दाहालले बताउनुभयो । संविधान संशोधनको नाममा पनि सोही षड्यन्त्र भएको उहाँको आरोप छ ।

माओवादीको तागतमा नै अहिलेको व्यवस्था आएको दबी प्रचण्डको छ । गणतन्त्र ल्याउन संयोजनको काम माओवादी केन्द्रले नै गरेको उहाँले बताउनुभयो ।

बुर्जुवाहरूका कुरा पत्याउँदा माओवादी पनि ठाउँ ठाउँमा फसेको उहाँले बताउनुभयो । माओवादी पनि चिप्लिएको बताउँदै प्रण्डले अब माओवादी जनता केन्द्रित भएर जनताको मुद्दामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेन, सोचेको भन्दा बढी जनताले माया गरेकाले हामी उम्लियौँ,’ उहाँले भन्नुभयो ।

अहिलेको संविधान माओवादीकै कारण बनेको दाहालले बताउनुभयो । एमाले अध्यक्ष केपी ओली त संघीय गणतान्त्रिक संविधानकै पक्षमा नरहेको उहाँले दाबी गर्नुभयो । संविधान माओवादीको एजेण्डा भएकाले त्यसलाई स्वीकार्न बाध्य भएको उहाँले बताउनुभयो ।

माओवादीले गणतन्त्रको आँधीबेहरी ल्याएको कारण केपी ओली गणतन्त्र मान्न बाध्य भएको उहाँले बताउनुभयो । ‘उहाँ गणतन्त्र मान्न तयार नै हुनुहुन्नथ्यो,’ उहाँले भन्नुभयो ।

कांग्रेस एमाले जस्ता पार्टी यो संविधानको संरक्षणको पक्षमा नरहेका दाहालले बताउनुभयो । अहिलेको सरकार आफूले चलाएको भ्रष्टाचारविरुद्धको अभियान रोक्न बनेको दाहालले दाबी गर्नुभयो ।

देश दुर्घटनामा पर्न लागेको बताउँदै उहाँले आजको दिनमा माओवादीबाहेक कसैले देशको रक्षा गर्न नसक्ने बताउनुभयो । त्यसैले आफूहरूलाई भरोसा गर्न दाहालले आग्रह गर्नुभयो ।

प्रचण्डले पाथीभराको मुद्दा धार्मिक र सांस्कृतिक भावनाको मुद्दा भएकाले त्यसलाई छलफल र समझदारीबाट समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले सो घटनामा बल प्रयोग नगर्न सरकारलाई आग्रह गर्नुभयो ।

पाथीभराको केबुलकारमा सरकारमा नेतृत्व गर्नेहरूको पनि लगानी भएकाले जनता मारेर भए पनि केबुलकार बनाउने सोचमा लागेको उहाँले बताउनुभयो । यसमा सरकारले नसुने माओवादी आन्दोलनमा उत्रिने उहाँले चेतावनी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...