काठमाडौँ, ११ फागुन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि संसद् विघटन गर्ने जमर्को गरिरहेको आरोप लगाउनुभएको छ ।
आइतबार प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै पहिला आफू सभामुख भएको बेला पनि ओलीले झम्टीझम्टी दुई पटक संसद् विघटन गरेको भन्दै फेरि पनि त्यहीँ बाटोमा उद्धत भएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘अझै पनि ठुला ठुला घट्ना घटाउन सक्छन् । म आफैँ सभामुख भएको बेला दुई पटक सदन विघटन गर्न खोजिएको थियो र आज पनि त्यतैतिर उद्दत छ सरकार र अहिलेका प्रधानमन्त्री । फेरि पनि विघटन गरेर चुनावमा गएँ भने बहुमत ल्याउछु भन्ने छ । बहुमत हजार कोष टाढाको कुरा हो । वास्तवमा यो संसद् विघटन गर्नतिर नै उनी उद्धत छन् ।
उहाँले अहिलेको सरकार शासक बन्न खोज्दा जनताको घेराबन्दीमा पर्ने पनि बताउनुभयो । जनताको मुख बन्द गर्ने षड्यन्त्रको रुपमा सामाजिक सञ्जाल विधेयक ल्याएको पनि आरोप लगाउनुभयो । सरकारले सामाजिक सञ्जालको नियमन नभएर पूर्ण रुपमा नियन्त्रण गर्न खोजेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘जब जब शासकहरु जनताको घेराबन्दीमा पर्छन् जनताले प्रश्न उठाउन थाल्छन् । पत्रकारले प्रश्न सोध्न थाल्छन् । उनीहरुले जनताको मुख बन्द गर्ने षड्यन्त्र गर्छन् । र यो नियमन होइन, पूरा नियन्त्रण हो । हामीले रगत बगाएर प्राप्त गरेको अभिव्यक्ति स्वतन्त्रताको कुरा हो । यसलाई नियन्त्रण गर्न खोजिएको छ ।’
त्यस्तै, पवक्ता सापकोटाले सरकारले अहिले अध्यादेशबाट शासन चलाउने जमर्को गरेको भन्दै त्यो असफल भएको बताउनुभयो । सरकार आफैँ उम्कन नसक्नेगरी पूर्ण रुपमा अध्यादेशको पासोमा परेको पनि उहाँले बताउनुभयो ।