पूर्वराजा ज्ञानेन्द्रले ८४ को चुनाव लड्ने हिम्मत गरुन् : सांसद न्यौपाने

29

काठमाडौँ, ११ फागुन । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा नै आउने चाहना भए ०८४ को निर्वाचनमा भाग लिन चुनौती दिनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा उहाँले कसैको कृपाले सत्तामा फर्किने नसोच्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको होइन, नेपाली जनताको शक्तिले हासिल गरेको हो । गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन, त्यति कुरा भन्न पाउने अधिकार यही लोकतन्त्रको देन हो । सत्तामा नै फर्कन चाहना छ भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपभोग गर्दै ०८४ को चुनावमा भाग लिने हिम्मत गर्नुस् । पूर्वराजा र समर्थकहरूलाई मेरो सुझाव छ– कहिल्यै पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस् । ’

साथै उहाँले पछिल्ला दिनहरुमा संसद् जनताको समस्याको छलफल गर्ने भन्दा पनि एक अर्कालाई आरोप प्रत्यारोप गर्ने थलो भएको बताउनुभयो । उहाँले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको सन्देशले तरंग पैदा भएको बताउनुभयो ।

शाहले प्रजातन्त्र दिवसको शुभकामना सन्देशमार्फत् नेपालको उन्नतिका लागि आफूहरू आवश्यक सबै त्याग्न तयार रहेको बताउनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...