जनकपुर, १० फागुन । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले नेता माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टीको नीति कार्यक्रम विदेशीको इसारामा बन्ने गरेको आरोप लगाउनुभएको छ ।
जनकपुरधाममा शनिबार आयोजित वडा केन्द्रित पार्टी निर्माण अभियानअन्तर्गतको अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै नेता महासेठले नेकपा (एमाले)पार्टीको नीति कार्यक्रम जनताको चाहनाअनुसार बन्ने गरेको बताउनुभयो ।
उहाँले एमालेमा १५ वर्षसम्म नेता भएर बसेका माधव कुमार नेपाल र प्रचण्डको पार्टीले विदेशी इसारामा नीति कार्यक्रम बनाउने गरेको आरोप लगाउनुभयो ।
एमाले आज जुन ठाउँमा छ त्यो यही जनता र पार्टीको धेय बुझेर पार्टीका लागि समर्पित रहेका नेता कार्यकर्ताहरुको कारणले रहेको जिकिर गर्नुभयो । उहाँले पार्टी छोडेर अर्को पार्टी निर्माण गरेकाहरुको अहिलेको अवस्था कस्तो छ भनेर प्रश्न गर्नुभयो ।
त्यस्तै, नेता महासेठले पार्टीले गरेका कामहरुबारे जानकारी आमजनतालाई नभएकोमा गुनासो गर्नुभयो । एमालेले गरेका विकासका कार्यहरुबारे जनता अनभिज्ञ रहेको उहाँले धारणा व्यक्त गर्नुभयो । उहाँले जनतालाई अहिले पनि विकास निर्माणका कामहरु अर्कै पार्टीले गरेको भन्ने भ्रम रहेको बताउनुभयो ।
नेता महासेठले प्रचार प्रसारको कमीका कारण यस्तो भ्रम सिर्जना भएको जानकारी दिनुभयो । उहाँले सम्पूर्ण नेता कार्यकर्तालाई पार्टी र पार्टीले गरेका विकास निर्माणका कार्यहरुबारे सामाजिक सञ्जाललगायतमा प्रचार प्रसार गर्न निर्देशनसमते दिनुभयो ।
नेता महासेठले सम्पूर्ण कार्यकर्तालाई शासक नभई सेवक बनेर जनताको घर घर र टोल टोलमा पुग्न निर्देशन दिनुभयो ।
उहाँले ८४ लाई मध्यनजर गर्दै पार्टीलाई मजबुत बनाउनेतर्फ सबैलाई ध्यानदिन आग्रह गर्नुभयो । नेता महासेठले प्रचार डेस्क बनाएर पार्टीको प्रचारमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।