विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नागदहमा भेटियो

25
  • प्रमिला कार्की 

काठमाडौँ, १० फागुन । विश्वमै अति दुर्लभ मानिएको हाँस प्रजातिका बैकाल गैरी चरा ललितपुरको नागदहमा फेला परेको छ । केही दिनअघि उक्त चरा नेपाल आएको हो ।

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन)ले समेत खतरामा रहेको अर्थात् रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा नागदहमा फेला परेको हो ।

साइबेरियाको दक्षिण–पूर्वी क्षेत्रमा बस्ने गरेको बैकाल गैरी जाडो छल्न भारत हुँदै बसाइँ नेपाल आइपुगेको चराविज्ञ सुर्दशन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी साइबेरियाको बैकाल भन्ने लेकमा यी चराहरु बस्ने भएका कारण यसको नाम बैकाल गैरी रहेको हो ।

उहाँले भन्नुभयो, ‘यसको नाम बैकाल रहनुको कारण के हो भने साइबेरियाको बैकाल लेक अर्थात् ताल क्षेत्रमा मात्र पाइने गर्छ । जुन झण्डै ६ सय किलोमिटरभन्दा लामो ताल हो । क्षेत्रफल पनि धेरै ठुलो छ । ३५ हजार स्क्वाएर किलोमिटर छ । संसारकै सबैभन्दा गहिरो ताल पनि हो । ताल झण्डै १७ सय मिटर गहिराइमा छ ।’

यी चराहरु जाडो महिनामा जाडो छल्न पूर्वतिर बसाइ सर्ने गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले गत पुस १४ गते दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १७९ जना व्यक्तिहरुको मृत्यु भएको घटनामा यही बैकाल चराको संलग्नता रहेको बताउनुभयो । यिनीहरु बथानमा उड्ने हुँदा उक्त विमानमा छोएको पुष्टि भइसकेको कार्कीले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘जाडो महिनामा जाडो छल्न पूर्वतिर बसाइ सर्छ । जस्तै, कोरिया, साउथ कोरिया जस्ता देशमा पुग्छ । कोरियामा २०२४ डिसेम्बर २९ मा भएको विमान दुर्घटनामा १७९ जना व्यक्तिहरुको मृत्यु भयो । त्यसबेला पाइलटलाई केही मिनेट अगाडि टावरले चराको क्रियाकलाप रहेको खबर गरिसकेको थियो । यी चराहरु ठुलो बथान लिएर उड्छन् । विमान दुर्घटनाको कारण पनि यिनै चराहरुले छोएर भएको भन्ने अध्ययनले देखाएको थियो ।’

उहाँले बैकाल काठमाडौँमा २० वर्षमा दोस्रो पटक देखिएको भनिएता पनि आफूले पहिलो पटक देखेको उहाँ बताउनुहुन्छ ।

‘काठमाडौंमा २० वर्षमा दोस्रो पटक देखिएको भन्ने छ । तर, मैले चाहिँ काठमाडौँम पहिलो पटक देखेको हुँ,’ उहाँले भन्नुभयो ।

त्यस्तै, बैकाल चरा फेला परेपछि फोटोग्राफरहरुको भीड लाग्ने गरेको र नागदह थप प्रसिद्ध भएको उहाँले बताउनुभयो ।

हाँस प्रजातिको बैकालको बथानमा नै उड्ने विशेषता रहेको भन्दै साउथ कोरियामा १० हजारको बथान रेकर्ड भएको उहाँले जानकारी दिनुभयो । यसको वैज्ञानिक नाम ‘अनास फोमोसा फोरमोसा’ भएको पनि उहाँले जानकारी दिनुभयो ।

‘यो हाँस प्रजातिको हो । यहाँ एउटा मात्र आइपुगेको छ । तर, बथान नै उड्ने गर्छन् । जस्तै साउथ कोरियामा १० हजारको बथान उडेको रेकर्ड छ,’ उहाँले भन्नुभयो ।

२०११ सम्म बैकाल कम भइसक्यो भन्ने गरेको भएता पनि अहिले पूर्वतिर केही मात्रामा देखिरहेको कार्की बताउनुहुन्छ । फेब्रुअरी ११ अर्थात माघ ३० गते उक्त चरा नागदहमा आएको थियो ।

यसको साथै नागदहमा बैकाल बाहेक अन्य चराहरु पनि जाडो छल्न बसाइ सरेर आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘गएको हप्तासम्म यहाँ पाँचवटा मल्हाड अर्थात् पानी हाँस थिए । त्यसलाई हरित हाँस पनि भनिन्छ । एउटा पोथी र चार वटा भाले थिए, तर आज छैनन् । यीनिहरु झण्डै महिना दिन जति बसेर गए । अहिले यहाँ फेरोजेनेश हासहरु छन् । कुट, मरुल, मोरह्यान, सिम कुखुरा भन्ने पनि छन् । यी सबै जाडो छल्न नेपाल आएका हुन् ।’ -नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...