कांग्रेस, एमाले र माओवादीका कारण देश ओरालो लाग्यो : लिङ्देन

21

काठमाडौँ, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको अवस्था आँखाले देखेको जस्तो सामान्य नरहेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन ललितपुर जिल्ला अधिवेशनमा बोल्नुहुँदै उहाँले अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारी साथै अन्तर्राष्ट्रिय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले देश विशिष्ट अवस्थामा छ । देश हाम्रो आँखाले देखेको जस्तो सामान्य अवस्थामा छैन । अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारीका हिसावले, अन्तर्राष्ट्रिय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको अवस्था छ । यसलाई निरन्तर रुपमा पालिराख्ने हो भने युवाले जुन बेला देशको नेतृत्व गर्ने मौका आउँछ त्यसबेला देश रहन्छ की रहँदैन भन्ने अवस्थामा छ ।’

साथै उहाँले अहिले देशको अवस्था आउनमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार रहेको बताउनुभयो । उहाँले देश बिग्रियो भने शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को केही नबिग्रने तर युवाहरुको भविष्य बिग्रिने चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो देश विग्रियो भने शेरबहादुर देउवा, केपी ओली र प्रचण्डको केही बिग्रदैन । देश बिग्रियो भने युवाहरुको भविष्य बिग्रिने छ । देशको भविष्यसँग सबैभन्दा धेरै सरोकार र सम्बन्ध युवाहरुको छ । यसकारण युवाहरुले निर्माण गर्नुपर्ने र निर्वाह गर्नुपर्ने भूमिका महत्त्वपूर्ण छ । अहिले देशको यो अवस्था आउनमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार छन् ।’

Share This:
सम्बन्धित खबर
Loading...