टिकटकमा प्रतिबन्ध लगाउनेहरु आज बोल्न पाउने अधिकार खोज्दैछन् : प्रधानमन्त्री ओली

27

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको मस्यौदा तयार गर्दा सँगै भएको पार्टी अहिले त्यसको विरोध गरिरहेको बताउनुभएको छ ।

ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको लोकार्पण गर्नुहुँदै उहाँले माओवादीलगायतका संसद्‌मा भएका पार्टीले हिजो आफूसँगै बसेर मस्यौदा गरेका कानुनको अहिले विरोध गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कानुन कसरी छिटो बनाउने, उपयुक्त कानुन कसरी बनाउने भन्ने सन्दर्भमा काम गरिरहेका छौँ । केही मान्छेले आफैँले हिजो मस्यौदा गरेका कानुनलाई अहिले सामाजिक सञ्जालको विषयमा विरोध गरिरहेका छन् । हिजो हल्ला गर्ने, चर्का कुरा गर्ने, विरोध गरेर उफ्रिने पार्टीहरुले हामीसँगै बसेर मस्यौदा बनाएका हुन् ।’

यसका साथै उहाँले आफू बोल्न नपाएको समाजविरुद्ध लडेर आएको भन्दै वर्तमान सरकारले बनाउने कुनै कानुनले कसैको अधिकार नमिचिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वाक स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता, प्रकाशन स्वतन्त्रतामा कुनै प्रकारको बन्देज लगाइने छैन । बोल्न नपाएको समाजबाट आएका हौँ । त्यो समाजको विरुद्ध लडेर आएका हौँ । त्यसकारण कसैका अधिकार मिच्न पाइँदैन, मिचिँदैन । कुनै कानुनले कसैको अधिकार मिचिँदैन ।’

आज अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्ने पार्टीले विगतमा टिकटकमा प्रतिबन्ध लगाएको भन्दै जे पनि बोल्न मिल्ने भए किन लगाएको प्रतिबन्ध भन्दै प्रश्न पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन् । अहिले बहुत हिमायति निस्किएका छन् । फेरि बोल्न पाउनपर्छ, जे पनि बोल्न पाउनुपर्छ भनेर उफ्रिएका छन् । टिकटकलाई किन प्रतिबन्ध लगाएको त त्यतिबेला ? जे पनि बोल्न पाउनुपर्छ भन्ने कुरा ठिक होइन । ठिक कुरा बोल्नुपर्छ । देशको विरुद्ध, शान्ति सुरक्षा खल्बल्याउन खोज्ने चिन्दै नचिनेको जान्दै नजानेको ठाउँमा गएर सामाजिक सद्‌भाव बिगार्ने गरी जथाभावी बोल्ने प्रवृत्ति बढेको छ ।’

उहाँले सुशासनबाट मात्रै समृद्धितिर देशलाई लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटो छरितो रुपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...