जनकपुरधामका थप चार अस्पताल बन्द

19

जनकपुर, ५ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका निजी अस्पतालहरूको अनुगमनलाई निरन्तरता दिनुभएको छ । प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह र मन्त्रालयका अधिकारीहरूसहितको टोलीले आाइतबार राति जनकपुरधामका विभिन्न ९ वटा अस्पतालको अनुगमन गर्नुभएको हो ।

मुख्यमन्त्री सिंहको टोलीले जनकपुरधामको ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टर, ब्रह्मपुरीमै रहेका गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र नवजीवन हस्पिटल, साकेतनगरस्थित वैदेही हस्पिटल प्रालि, जनक मेमोरियल हस्पिटल र जनकपुर मोडल हस्पिटल, रामानन्दचोक नजिकका जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल प्रालि र एडभान्स सिटी स्क्यानको अनुगमन गर्नुभएको छ ।

अनुगमन गरिएका अस्पतालमध्ये जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल जनकपुर गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालि बन्द गरिएका छन् । ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टरलाई फोहोरमैला छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ । दर्ता नरहेको ब्रह्मपुरीस्थित गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालिलाई कागजपत्र लिएर सोमबार ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।

यस्तै, ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलले गत चार वर्षदेखि र साकेतनगरस्थित वैदेही हस्पिटल प्रालिले दुई वर्षदेखि नवीकरण नवीकरण नगराएकाले सोमबार ११ बजे कागजपत्रसहित सञ्चालकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।

एडभान्स सिटी स्क्यानले दुई वर्ष छ महिनादेखि नवीकरण गराएको छैन । आजदेखि बन्द गरिएको जनकपुर मोडल हस्पिटलका सञ्चालकलाई अस्पतालमा जडान गरिएका सिसिटिभीका शनिबार र आइतबारका फुटेज लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरले जानकारी दिनुभयो ।

बन्द अवस्थामा पनि अस्पतालमा बिरामीको उपचार भइरहेको आशंकामा अस्पताल सञ्चालकलाई सिसिटिभी फुटेजसहित बोलाइएको ठाकुरले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...