पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित

1

पर्सा, ७ माघ । पर्साको बहुदरमाई नगरपालिकाभित्र रहेका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघ पर्साको अगुवाइमा आइतबारदेखि विद्यालयमा ताल्चा लगाएर शिक्षक–शिक्षिकाहरुले पठनपाठन बन्द गरेका हुन् ।

जसका कारण सोमबार पनि विद्यालय बन्द रहेका छन् । उनीहरुले विगत ६ महिनादेखि तलबभत्ता पाउनुपर्ने मुख्य माग राखेका छन् ।

गत साउनदेखि पुससम्म ६ महिनाको र दसैँ खर्च बापतको १ महिना गरेर ७ महिनाको तलबभत्ता नपाउँदा आफूहरुको घर खर्च टार्न पनि समस्या परेको भन्दै बाध्य भएर विद्यालय बन्द गरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तिथ राज यादवले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयमा ताला लगाएर चाबी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाइएको छ ।

बहुदरमाई नगरपालिकाका मेयर सिंगासन सा तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबीचको विवादका कारण नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षक–शिक्षिकाहरुले तलबभत्ता नपाएको बुझिएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले बहुदरमाई नगरपालिकाका शिक्षक र कर्मचारीहरुको समस्याबारे आफूले गम्भीर रुपमा लिएको बताउनुभयो । यस विषय छलफलबाट नै टुंगोमा पुग्ने उहाँले जानकारी दिनुभयो । बहुदरमाई नगरपालिकामा २० वटा स्कूलमा करिब १० हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

Share This:
सम्बन्धित खबर
Loading...