पोखरामा स्कुटर चोरी गर्ने तीन जना पक्राउ

0

पोखरा, २६ पुस । पोखरामा मोटरसाइकल तथा स्कुटर चोरी गर्ने कार्यमा संलग्न तीन जनालाई वडा प्रहरी कार्यालय बैदाम पोखराले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ११ बस्ने २६ वर्षीय सन्तोष लामिछाने र कास्कीको मादी गाउँपालिका वडा नम्बर घर भइ हाल पोखरा १५ बस्ने २७ वर्षीय किरन परियार र नवलपरासीको पश्चिम सुस्ता गाँउपालिका वडा नम्बर ५ बस्ने ३० वर्षीय प्रहलाद कोहारलाई पोखरामा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये लामिछाने र परियारले गएको पुष ९ गते मध्यराति पोखराको पृथ्वीचोकमा पार्किङ गरी राखेको ग २५ प ७१३ नम्बर र ग १८ प २७३७ नम्बरको स्कुटर चोरी गरेकोमा ग १८ प २७३७ नम्बरको स्कुटर कोहारले किनेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिनुभयो ।

पोखराको पृथ्वीचोकबाट चोरी भएको दुई वटा स्कुटर खोजतलास गर्ने क्रममा अभियुक्तद्वय लामिछाने र परियार पक्राउ परेकोमा उनीहरुले आफूहरुले चोरी गरेको स्कुटर कोहारलाई बेचेको प्रहरीसमक्ष बयान दिएका छन् । उनीहरुको बयानका आधारमा कोहारलाई ग १८ प २७३७ नम्बरको स्कुटरसहित नवलपरासीबाट पक्राउ गरेर ल्याइएको डिएसपी निरौलाले बताउनुभयो ।

उनीहरु तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...