के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?

8
  • अश्विन दानी

यदि तपाईं पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शीर्षकको समाचार लेखेको÷पढेको या सुनेको स्मरण छ ?

पत्रकार महासंघ अर्थात्, ‘सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन !’

जसको स्थापना सम्पूर्ण नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्ने उदेश्यका साथ भएको हो ।

तर, आखिर पत्रकारहरुले नै आफ्नो साझा संगठनमा किन तालाबन्दी गर्छन् ? यो प्रश्नको जवाफ पत्रकार महासंघका हालसम्मका नेतृत्व र भावी नेतृत्वको आशा बोकेर चुनावी मैदानमा होमिएकाहरुले दिन सक्छन् या सक्दैनन् ? त्यो मलाई थाहा छैन ।

तर, मलाई यो पक्कै थाहा छ । यस्तो किन हुन्छ ? किनकी, स्वतन्त्रताका हिमायती कृष्णप्रसाद भट्टराईसहितका अग्रजहरूले स्थापना गरेको नेपाल पत्रकार महासंघमा पछिल्लो समय ‘राजनीतिक ग्रहण’ लागेको छ ।

जसका कारण, वास्तविक श्रमजीवी पत्रकारहरुले महासंघलाई साझा संस्थाका रुपमा अंगिकार गर्न सकेका छैनन् । उनीहरुमा यस संस्थाप्रति अपनत्व बोध छैन । सायद त्यसैले होला, अझैपनि देशभर हजारौँ पत्रकारहरु महासंघमा आवद्धताका लागि खासै चासो देखाउँदैनन् ।

महासंघले हरेक महाधिवेशन अगाडि सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरण गर्ने प्रचलन छ । अधिकतम् महासंघको केन्द्रीय कार्यालयदेखि देशभरका विभिन्न शाखाहरुमा पटकपटक तालाबन्दी हुने यही समयमा हो । किनकी यस समयमा कतिपय ठाउँमा क्रियाशील र श्रमजीवी पत्रकारहरु महासंघले तोकेको योग्यता, क्षमता र मापदण्ड पूरा गर्दागर्दै पनि सदस्यता पाउँदैनन् । अनि, कहीँकतै पत्रकारिता क्रियाशील रहे पनि राजनीतिक रंगभेदका कारण सदस्यता शुद्धीकरणका नाममा महासंघका नेतृत्वको चलखेलमा हटाइन्छ । यति मात्रै हैन, कहीँकतै त पत्रकारिता नै नगर्ने राजनीतिक दलका नेता कार्यकर्तालाई समेत महासंघको सदस्यता दिइन्छ । र, नेतृत्वमा पुर्‍याइन्छ ।

विशेषतः पत्रकार महासंघको कार्यालयमा तालाबन्दी यी यस्तै कारण हुने गर्छ । महासंघको विधान र तोकिएको मापदण्ड अनुसार योग्यता, क्षमता भएका सबै योग्य पत्रकारहरुलाई सदस्यता दिने र मापदण्ड नपुगेका र विद्यान विपरित गतिबिधी गर्ने जो कोहीलाई संगठनमा स्थान नदिने भने सायदै तालाबन्दी हुँदैनथ्यो ।

अर्को कुरा, पत्रकार महासंघको नेतृत्व गर्नेहरु साझा र स्वतन्त्र बन्न नसक्दा पनि ऐतिहासिक महासंघको गौरवमय साख गुम्दै गएको छ । पछिल्लो समय महासंघको निर्वाचनमा दल निकट पत्रकार संगठनहरुले गठबन्धन गर्दै भागबन्डाका आधारमा देशभर प्यानल बनाएर उम्मेदवारी दिने गरेका छन् । त्यसमा पनि देशमा जुनजुन दलहरु सत्तासाझेदार छन्, तीनै दलनिकटका पत्रकार संगठनले गठबन्धन गर्ने प्रचलन छ ।

यसरी चुनावी प्रक्रियामा जाँदा वास्तविक श्रमजीवी पत्रकारहरुको हकहितका पक्षमा काम गर्नसक्ने पत्रकार नेतृत्वमा नपुग्न पनि सक्छन् । या सही व्यक्ति नेतृत्वमा पुगे पनि श्रमजिवीको हकतिकका निम्ति भन्दा आफ्नो दलीय पत्रकार संगठन र आफूलाई नेतृत्वमा पुर्‍याउन सहयोग गर्ने संगठन र तीनका नेतृत्वका हित र एजेण्डालाई केन्द्रबिन्दुमा राखेर काम गर्छन् भन्दा अतियुक्ति नहोला ।

त्यसो त निर्वाचनमा भोट माग्दा आफू सम्पूर्ण पत्रकारहरुको हकहितका निम्ति निष्पक्ष हुँदै काम गर्ने भन्दै भाषण नगर्ने गरेका हैनन् । तर, हात्तिका दुईवटा दाँत भने जस्तै हो । उनीहरु भन्छन् एकथरी अनि गर्छन् अर्कोथरी । यो मेरो आरोप हैन, तमाम श्रमजीवी पत्रकारहरु यस्तै भन्छन् ।

नभनुन् पनि कसरी ? चुनाव जितेपछि पत्रकारको नयाँ नेतृत्वले आफूसम्बद्ध पार्टीका शीर्ष नेताका घरदेखि पार्टी कार्यालय जितको आशीर्वाद थाप्न दौडधुप गर्छन् । उनीहरुको यो प्रक्रिया चुनाव जितेपछि मात्रै सुरु हुने भने हैन । चुनावमा उठ्नका निम्ति टिकट पाउनेदेखि नै सुरु हुन्छ । पार्टीका नेताको हालगोडा मोलेरै भए पनि पत्रकार महासंघको नेतृत्वमा जो पुग्छ । उसैले भविष्यमा सरकारी ओहदाको महत्त्वपूर्ण नियुक्ति हात पार्छ । विगतदेखि नै यहीँ हुँदै छ र सायद भविष्यमा पनि दोहोरिने छ ।

समस्या को नेता बन्यो भन्ने कुराको हैन । कस्ले कहाँ नियुक्ति पाउछ भन्ने चिन्ता पनि हैन । सम्पूर्ण पत्रकारहरुका हक अधिकारका निम्ति, समग्र पत्रकारिता जगतको साख बढाउनका निम्ति, विधि, विद्यान र पद्धतिका आधारमा निस्वार्थ भावले काम गर्ने चाहाना बोकेकाहरु नेतृत्वमा पुग्दैनन् कि भन्ने चिन्ता हो । आगामी दिनमा पुनः साझा संस्था मानिने महासंघको कार्यालयमा तालाबन्दी नहोस् भन्ने शुभेच्छा हो । आज आफैँले मतदान गरेर जिताएको नेतृत्वका विरुद्धमा निकट भविष्यमा आफैले पछुत्ताएर नारावाजी गर्ने अवस्था नआओस् भन्ने चिन्ता हो । अनि,जसको मत पाएर नेतृत्वमा पुगियो उनीहरुकै विरोधपछि राजीनामा दिएर भाग्नुपर्ने विपुल पोखरेलको जस्तो नियति नदोरिओस् भन्ने पिर हो ।

मैले यति लेख्दै गर्दा आफ्नै आङ कन्याएर छारो उडाएको जस्तो हुनसक्छ । तर, अब छारो उडाएर मात्रै सुख छैन । नेपाली पत्रकारिता र पत्रकार महासंघ माथि लागेको ‘राजनीतिक ग्रहण’ हटाउँदै को गिर्दो ‘साख’ जोगाउन अत्यावश्यक छ । त्यसका निम्ति पत्रकार र पत्रकारितामाथि थुप्रिएको फोहोरलाई जतिसक्दो छिटो पखाल्नुपर्छ । नत्र यसले दुर्गन्ध फैलाउँदै जाने पक्का छ ।

सात दशकभन्दाअघि स्थापित पत्रकार महासंघमा आगामी मंसिर २८ गतेको चुनावबाट २४औँ नेतृत्व चयन हुँदै छन् । यसपटक पनि विभिन्न दलनिकट पत्रकार संगठनहरु गठबन्धन गरेर चुनावी मैदानमा छन् । गठबन्धन गरेर चुनाव हुँदैमा अयोग्यहरु नेतृत्वमा पुग्छन् भन्ने आशय मेरो होइन । को योग्य र को अयोग्य त्यो निर्वाचनपछि उसको कार्यकालमा देखिएला । तर, महासंघको नेतृत्वमा श्रमजीवीका निम्ति काम गर्ने, निष्पक्ष र पारदर्शी, प्रेस स्वतन्त्रता र सुरक्षा सुनिश्चितताका निम्ति काम गर्न सक्ने व्यक्ति आउन भन्ने चाहाना हो ।

नेपालमा अझैपनि पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रता खतरामा छ । रिपोर्टिङका क्रममा पत्रकारहरूले शारीरिक, मानसिक, र कानुनी दबाबको सामना गरिरहेका थुप्रै दृष्टान्तहरु छन् । प्रेसमाथि सरकारी नियन्त्रण, अनौपचारिक अडानहरू, र भ्रष्टाचारका कारण स्वतन्त्र पत्रकारिता प्रभावकारी र जनमुखी बन्न सकेको छैन । जसका कारण पछिल्लो समय आम सन्चार माध्ययम प्रति पाठकहरुको विश्वास कम हुँदै गएको छ ।

नेपालमा स्वच्छ पत्रकारिता मात्रै गर्ने अधिकांश पत्रकारहरू आर्थिक रूपले असुरक्षित छन् । अझैपनि दैनिक पत्रिका, रेडियो र टेलिभिजन मिडियामा काम गर्ने कतिपय पत्रकारहरूले न्यूनतम पारिश्रमिक समेत पाउन सकेका छैनन् । पाएपनि समयमै नपाउँदा विभिन्न समस्या झेल्नुपर्ने बाध्यता छ । मिडियाको व्यावसायिकतामा सुधार ल्याउन चुनौतीपूर्ण छ ।

डिजिटल मिडियाको आगमनसँगै सम्भावना र चुनौतीहरु थपिँदै छ । अनलाइन मिडिया तथा डिजिटल पत्रकारितालाई मर्यादित तथा ब्यवस्थित बनाउन जरुरी देखिन्छ । सरोकारवाला निकायसँगको समन्वयमा विभिन्न नीति, ऐन, कानुन तथा कार्यक्रमहरु ल्याएर पत्रकारहरूको पेशागत स्तरलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यकता छ । पत्रकार महासंघले पत्रकारहरूको पेशागत कौशल र ज्ञानको विकासका लागि बिरालो बाँधेर श्राद्ध गरेजस्तो नभई प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने देखिन्छ । जसका कारण,पत्रकारहरुलाई पेशागत हिसाबले स्थिरता र समृद्धिको महसुस होस् ।

अन्ततः राज्यको चौथो अंगका रुपमा स्थापित नेपाल पत्रकार महासंघको नेतृत्वमा आन्तरिक विवाद र विभाजनका कारण संगठनको कार्यक्षमता र प्रभावकारिता घटेको छ । विभिन्न समूहहरूका बीच मतभेद र शक्ति संघर्षले संगठनको उद्देश्य र लक्ष्यलाई तुहाउँछ । यस्तो अवस्थाले पत्रकार महासंघको प्रभाव र प्रतिष्ठामा नकारात्मक असर पर्नु स्वभाविक होे । जसले सदस्यहरूको महासंघ प्रतिको विश्वास कमि हुन्छ । सँगै पत्रकारितामा नवप्रवेशीहरुलाई संगठन प्रतिको आकर्षण घट्छ ।

त्यसैले नयाँ नेतृत्वले पेशागत सुधारका लागि नयाँ दृष्टिकोण ल्याउनुपर्छ । पत्रकारिता पेशामा व्यावसायिकता, पारदर्शिता, र समृद्धिको नयाँ युगको सुरुवात गर्नुपर्नेछ । जसमा मुख्य कुरा भनेको पत्रकारहरूको सुरक्षाको सुनिश्चितता, पारिश्रमिकमा सुधार र प्रेस स्वतन्त्रताको रक्षाका लागि आवश्यक ऐन, कानुन बनाएर त्यसको प्रभावकारी कार्वान्वयन गर्नु हो । पत्रकार महासंघका भावी नेताहरूले संगठनको आन्तरिक एकतासहित डिजिटल मिडिया र पत्रकारिताका नयाँ प्रविधिहरूसँग तालमेल मिलाउँदै संगठनलाई अझ प्रभावकारी बनाउनु पर्छ ।

अतः आसन्न निर्वाचनमा सबै पत्रकारहरुले हाम्रो हैन, महासंघका निम्ति राम्रो व्यक्ति पहिचान गरौँ । हाम्रा लागि काम गर्नसक्ने अब्बल पत्रकारलाई मतदान गरौँ । र, पत्रकारिता र पत्रकार महासंघको गिर्दो ‘साख’ जोगाऔँ ।

जय पत्रकारिता !

Share This:
सम्बन्धित खबर
Loading...