काठमाडौँ, १८ मंसिर । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर थापा मगरले अपाङ्गता भएका नागरिकले संविधानले प्रदान गरेको हक र अधिकार पूर्ण रूपमा प्रयोग गर्न पाउनुपर्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौँमा राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आयोजित कायक्रममा बोल्दै अध्यक्ष थापाले अपांगता भएका व्यक्तिहरूको सम्मानजनक जीवनयापनका लागि सरकार र मानव अधिकारकर्मीले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,‘खासगरी अपांग भएको नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र सम्मानसहित जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ भनिएको छ । अपांगता भएका व्यक्तिहरुलाई यो हक संविधानले दिएको छ । यो अनुसारको हक प्रयोग गर्न पाउनु पर्यो र सरकारले पनि सोही अनुसारको सुविधा दिनुपर्यो ।’
उहाँले मानव अधिकारसँग सम्बद्ध सबै व्यक्तिलाई अपांगता भएका व्यक्तिहरूले सेवा सुविधा प्रयोग गरेका छन् कि छैनन् भन्ने विषयमा निरन्तर अनुगमन गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मानव अधिकारकर्मीहरूले संविधानले सुनिश्चित गरेका हकहरू कार्यान्वयनमा छन् वा छैनन् भनी अनुगमन गर्नु आवश्यक छ । सरकारको पनि यसमा पूर्ण सहयोग हुनुपर्छ । केवल नीति निर्माण मात्र नभई कार्यान्वयनमा विशेष ध्यान दिइनुपर्छ ।’
अध्यक्ष थापाले सरकारलाई अपाङ्गता भएका नागरिकलाई प्रदान गर्नुपर्ने सेवा सुविधाको व्यवस्था प्रभावकारी बनाउँदै उनीहरूको अधिकारलाई व्यवहारमा उतार्न आवश्यक नीतिगत र व्यवस्थापकीय सुधार गर्न आग्रह गर्नुभयो ।
मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारको सुनिश्चितता र सेवा सुविधाको पहुँच विस्तारमा विशेष प्राथमिकता दिने योजना बनाएको उहाँको भनाइ छ ।