‘मौलिक कथा तथा संस्कृति र पेसा पुस्तान्तरणको कथा‘पूर्ण बहादुरको सारङ्गी’को बलियो पक्ष’

10

काठमाडौँ, १२ कात्तिक । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण टिमले मौलिक कथा तथा संस्कृति र पेसा पुस्तान्तरणको कथा नै ‘पूर्ण बहादुरको सारङ्गी’को स्ट्रङ पक्ष भएको बताएको छ ।

काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्भ समुदायको कथा भन्दै छोराका लागि बाउले देख्ने सपनाको कुरा गर्ने बताएको छ ।

‘यो चलचित्रले पुस्तान्तरणसहितको रुपान्तरण यो सिनेमाको कथा सार हो । बाउले छोराका लागि देखेको सपनाको कथा हो यो सिनेमा,’ सिनेमाका मुख्य कलाकार विजय बरालले भन्नुभयो, ‘सिनेमा भन्नबित्तिकै केही कथा हुनुपर्छ, यो सिनेमाले भन्ने पनि यही नै हो ।’

उहाँले आफ्ना लागि सिनेमा विशेष रहेको बताउनुभयो । क्यारेक्टर र जिम्मेवारीका हिसाबले आफ्ना लागि ‘पूर्ण बहादुरको सारङ्गी’ अवसर पनि भएको उहाँको भनाइ छ । ‘यो सिनेमामा केही कुरा छ, जुन हेर्दा हरेक दर्शकलाई महसुस हुन्छ,’ उहाँले भन्नुभयो ।

चलचित्रका अर्का कलाकार मुकुन भुसालले सिनेमाप्रति दर्शकको चासो रहेको बताउनुभयो । काठमाडौँ बाहिरको टुरमा पनि सिनेमाप्रति दर्शकको उत्साह देखिएको उहाँले बताउनुभयो । ‘दर्शकको चासो देख्दा हामी उत्साही छौँ । यो चलचित्र दर्शकका लागि नयाँ एक्सपिरियन्स पनि हुनसक्छ । आफ्नो करिअरमा पनि केही योगदान गर्नेमा म ढुक्क छु ।’

अञ्जना बराइलिले सिनेमाबारे मोफसलमा निकै राम्रो हाइप बनेको बताउनुभयो । काँधे कुरी गीतबाट दर्शकले ‘पूर्ण बहादुरको सारङ्गी’का बारेमा धेरै कुरा थाहा पाइसकेको उहाँको भनाइ छ । ‘यो सिनेमालाई लिएर दर्शकमा फरक खालको उत्साह पायौँ । हामी यो चलचित्रबाट निकै धेरै आशावादी पनि छौँ,’ उहाँले भन्नुभयो ।

निर्माता प्याट्रिक सुवेदीले नेपाल बाहिरका दर्शकमा ‘पूर्ण बहादुरको सारङ्गी’लाई लिएर प्रतिक्षा रहेको बताउनुभयो । आफू देशबाहिर रहँदा यो सिनेमालाई लिएर निकै धेरै प्रतिक्षा र इन्क्वाइरी रहेको उहाँले सुनाउनुभयो । ‘अहिले आइरहेका भन्दा केही फरक सिनेमा बनेकाले यसको प्रतिक्षा रहेको मैले पाएको छु,’उहाँले भन्नुभयो ।

निर्देशक सरोज पौडेलले आम बुवाहरू जसले आफ्नो सन्तानका लागि सपना देख्छन् उनीहरुको कथा ‘पूर्ण बहादुरको सारङ्गी’ले भन्ने बताउनुभयो । सन्तानका लागि सपना देख्ने र संघर्ष गर्ने बुवाहरूको कथामा यो सिनेमा बनेको उहाँले प्रष्ट पार्नुभयो । ‘बाउ र छोराको इमोसनको कथा हो । यो सिनेमाले बाउ र छोरोबीचको इमोसनको कथा भनिरहँदा दर्शकको चित्त बुझाउँछ,’ उहाँले भन्नुभयो ।

सारङ्गी पनि चलचित्रमा पात्रका रुपमा जोडिएको उहाँले बताउनुभयो ।

आफू पहिलोपटक मुख्य भूमिकामा रहँदा केही फरक अनुभव र जिम्मेवारीमा रहेको विजय बताउनुहुन्छ । ‘सधैँ छेउमा बसेर काम गरिरहेको अहिले आफैँ अगाडि लागेर काम गर्दा केही गाह्रोजस्तो भइरहेको छ । तर, यो मेरो जिम्मेवारी हो । यसले मलाई फाइदा पनि गरिरहेको छ । सुरुमा अफर आउँदा दुई हप्ता त मैले होल्ड पनि गरेको हो । तर, थिएटरमा यो काम गरिसकेकाले ओके गरेको हुँ ’उहाँले भन्नुभयो ।

मिडल एजको क्यारेक्टर गर्न असहज नभए पनि वृद्धअवस्थाको क्यारेक्टर गर्न भने सुरुमा केही असहज भएको उनले स्मरण गर्नुभयो । क्यारेक्टरका लागि सारङ्गी बजाउन आफूले सिकेको उहाँले स्मरण गर्नुभयो । १० दिन लगाएर सारङ्गी बजाउन सिकेको उहाँले जानकारी दिनुभयो ।

अभिनेता मुकुन भुसालले कुन रोल र स्क्रिन टाइम कति भन्ने कुराले अर्थ नराख्ने बताउनुभयो । सर्पोटिङ क्यारेक्टरमा पनि आफूले सिनेमा गरेको भन्दै राम्रो र अर्थपूर्ण क्यारेक्टर भएको अवस्थामा छोटो रोलले पनि केही फरक नपर्ने उहाँको भनाइ छ ।

आफूले लिड रोलमा केही चलचित्र गरे पनि आफ्नो ठुलो स्टारडम छ भन्ने भ्रममा आफू नरहेको उहाँले बताउनुभयो । स्टारडमवाला क्यारेक्टर आफ्नो नभएको उनको भनाइ छ ।

निर्माता पौडेलले बाउ र छोराबीचको इमोसन नै ‘पूर्ण बहादुरको सारङ्गी’को सबैभन्दा बलियो र सवल पक्ष भएको बताउनुभयो । सुरुमा वानलाइन कथा सुन्दै यसमा सिनेमा बनाएर दर्शकलाई भन्नुपर्छ भन्ने लागेको उहाँले सुनाउनुभयो ।

‘गाउँ छोडेर सहर आएपछि गाउँको भ्यालु बढ्ने रहेछ । देश छोडेर विदेश गएपछि देशको भ्यालु बढ्नेरहेछ,’ उहाँ भन्नुहुन्छ, ‘यो त्यस्तै सिनेमा हो । यो हाम्रो माटोको कथा हो । यस्तो सिनेमा विदेशमा बेच्न सजिलो हुन्छ । विदेशमा रुचाइन्छ । त्यसैले पनि यो सिनेमामा हामीले लगानी गरेका हौँ ।’

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रको संवाद महेश दवाडीले लेख्नुभएको छ । निर्माता विनोद पौडेल, प्याट्रिक सुवेदी हुनुहुन्छ । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुनुहुन्छ ।

चलचित्र तिहारको छेको पारेर कात्तिक १५ गतेदेखि रिलिज हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...