कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ : उपाध्यक्ष घिमिरे

8

सुनसरी, १९ असोज । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रबार र शनिबार अवलोकन गर्दै बढ्दो आयातलाई आयात प्रतिस्थापन गर्नका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिनुभएको हो ।

उपाध्यक्ष घिमिरेले नेपालमा कृषि उत्पादन बढाउन सकिने ठुलो सम्भावना भएपनि आयातमा निर्भर रहनु विडम्बना भएको बताउँदै सबैखाले कृषि उत्पादन बढाउनका लागि योजना र कार्यक्रम तय गरिनुपर्छ भन्नुभयो ।

‘नेपालमा कृषि उत्पादन बढाउने सम्भावना छ तर उत्पादन वृद्धि र आयात प्रतिस्थापन प्रमुख चुनौतीको रुपमा देखिएको छ’, उहाँले भन्नुभयो, ‘खाद्यान्न, फलफूल, दुध र मासु उत्पादन बढाउन सकेमा वैदेशिक व्यापार घाटा धेरै घटेर जानेछ ।’ तीनै तहका सरकारको प्रमुख जोड नै कृषिमा आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने हुनुपर्ने उहाँको भनाइ थियो ।

प्रादेशिक कृषि अनुसन्धान केन्द्रमा भैँसीका विकास कार्यक्रमको अनुगमन गर्नुभएको थियो । साथै उहाँले अनुसन्धान केन्द्रले सीमित स्रोत साधनको बावजुद अनुसन्धानका क्षेत्रमा गरेको प्रयासको सह्रना गर्दै समस्याहरु समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि जनाउनुभयो ।

अवलोकनमा राष्ट्रिय सभाकी सदस्य रुक्मिणी कोइरालालगायत स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी थिए । अनुसन्धान केन्द्रका प्रादेशिक प्रमुख गोविन्द तिम्सिना र जुट विकास कार्यलयका प्रमुख सन्तोष त्रिपाठीले कार्यक्रमहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...