काठमाडौँ-१६ ले जित्यो वडास्तरीय फुटसलको उपाधि

49

काठमाडौँ, १० असोज । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा वडा नम्बर १६ विजेता बनेको छ ।

लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नम्बर १६ ले वडा नम्बर १२ लाई ५–२ गोल अन्तरले जितेको हो । १६ का लागि आयुष कुँवर, रविन निरौला, साजन डङ्गोल र श्रेयान्स मानन्धरले गोल गरेका थिए ।

वडा १२ को एउटा आत्मघाती गोल उपहार पाएर वडा नम्बर १६ को ५ गोल भएको हो । वडा नम्बर १२ का लागि मनोज महर्जन र सिद्धार्थ देउलाले गोल गरेका थिए ।

उपाधिसँगै विजेता टोली वडा नम्बर १६ ले दुईलाख रुपैयाँ प्राप्त गर्‍यो ।उपविजेता वडा नम्बर १२ ले एक लाख रुपैयाँ पुरस्कार पायो । वडा नम्बर १६ का आयुष कुँवर सर्वोकृष्ट खेलाडी र मनोज महर्जन सर्वाधिक गोलकर्ता बने ।

यस्तै, वडा नम्बर १६ का सुशान्त महत उत्कृष्ट गोलकिपर बने । उत्कृष्ट सबैलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो ।

असोज एक गतेबाट सञ्चालित प्रतियोगिताको समापन खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) खेल मैदानमा गएका थिए ।

खेल समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ र वडा नम्बर २३ का अध्यक्ष एवम् विधायन समितिका संयोजक मचाराजा महर्जनले पुरस्कार प्रदान गरेका थिए ।

२०८० सालबाट प्रतियोगिता सुरु भएको हो । यसपटकको खेलमा वडा नम्बर ७ र २४ बाहेक अरु सबै वडा र महानगरपालिका केन्द्रबाट एउटा टिमले भाग लिएको थियो । नकआउटका आधारमा भएको खेल हरेक दिन बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...