आफूविरुद्ध नारा लगाएपछि देउवाले भने- ‘कार्यक्रम बिथोल्ने, लाज छैन’

53

काठमाडौँ, १० भदौ । सोमबार सैनिक मन्च टुँडिखेलमा आयोजित गौरापर्व विशेष कार्यक्रममा सहभागीहरुले नेताहरुविरुद्ध नाराबाजी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बोल्दै गर्दा नाराबाजी भएपछि देउवा आक्रोशित हुँदै आन्दोलनकारीलाई गाली गर्नुभएको थियो । आक्रोशित हुँदै देउवाले भन्नुभयो, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवालगायतका शीर्ष नेता उपस्थित कार्यक्रममा सहभागीहरुले नेताहरु बोल्दा नाराबाजी गरेका थिए । सो क्रममा देउवा ‘लाज छैन’ भन्दै जंगिनुभएको थियो ।

‘यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’, देउवाले भन्नुभयो, ‘कार्यक्रम बिथोल्ने, लाज छैन ।’ गौरापर्व खेल्न र हेर्न आएकाहरुको कार्यक्रम बिथोल्न खोजेको भन्दै देउवाले आक्रोश व्यक्त गर्नुभएको थियो ।

नाराबाजीकाबीच देउवाले आफ्नो सम्बोधन जारी राख्नुभएको थियो । देउवाअघि प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएको थियो ।

नाराबाजीमा सहभागीहरुले बालेन्द्र शाह (बालेन)लाई नबोलाएकोमा आक्रोश पोखेको बताइन्छ । प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह (प्रशंसा)ले बर्सेनी काठमाडौँमा गौरापर्व विशेष कार्यक्रम गर्दै आइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...