काठमाडौँ, १० भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनताका निराशाहरुको अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताउनुभएको छ ।
सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्याहरु सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार लागि परेको बताउनुभयो ।
विशिष्ट परिस्थितिमा बनेको सरकारले राष्ट्रिय चुनौतीहरुलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको उहाँको भनाइ छ । उहाँले नेपालको उद्यमसिलता र औद्योगिक क्षेत्रको विकास गर्नमा आफूले ध्यान केन्द्रित गरेको बताउनुभयो ।
उहाँले सुदूरपश्चिमेलीहरुको मौलिक पर्व गौरालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने बताउनुभयो । विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा अहिले देशैभर र भारत, अमेरिकालगायतका देशहरुमा समेत मनाउन थालेपनि यसको मौलिक स्वरुपको विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो,‘गौरापर्व विगतमा कम व्यक्तिहरुले मनाउदा साघुरो बाटोमा सीमित थियो । तर, अहिले राजमार्गका रुपमा परिणत भएको छ । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मनाउन थालिए पनि यसको सांस्कृतिक महत्त्व र मौलिक तत्वहरुको विस्तार गर्नु जरुरी छ । गौरापर्वको विशेषतालाई पाठ्यक्रममा समावेश गर्नु जुरुरी छ । पर्वको महत्व, गरिमा र सान्दर्भिकता देखाउन सकेमा मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिनेछ । त्यो तहमा पर्वको अध्ययन हुनु जरुरी छ । हाम्रो परिचान र संस्कृतिको विस्तारमा सबैले लाग्नुपर्नेछ । जसका लागि सुदूरपश्चिमका सांस्कृतिक क्षेत्रका प्राज्ञिक व्याक्तित्वहरुले मुख्य भुमिका निर्वाह गर्नु जरुरी छ ।’
सुदूरपश्चिम समाज काठमाडौँले आफ्नो १५औँ साधारणसभाका अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा ‘सुदूरकी सोराई गोःरा विशेष’ पुस्तकको विमोचन गरिएको छ । उक्त पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ विशेष गौरापर्वका विषयमा व्याख्या गरिएको पुस्तकका प्रधान सम्पादक डाः हरिदत्त पाण्डेयले बताउनुभयो ।