काठमाडौँ, ९ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको प्रणालीलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार काठमाडौँमा आयोजित ‘जनतासँग जसपा नेपाल अभियान्ता अभिमुखीकरण कार्यक्रम’को उद्घाटन गर्दै अध्यक्ष यादवले पहिचान र सामर्थ्यका आधारमा राज्यको पुनःसंरचना गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको प्रणालीलाई बलियो बनाउन पहिचान र सामर्थ्यका आधारमा राज्यको पुनःसंरचना गर्नुपर्छ, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ । जनतालाई आत्मनिर्णयको अधिकार दिनुपर्छ ।’
साथै उहाँले राजनीतिक अस्थिरताका लागि एक अर्कालाई दोष थोपार्ने काममा ठुला दल लागेको बताउनुभयो । उहाँले राजनीतिक स्थिरताको बहानामा संविधान संशोधनमार्फत् समानुपातिक समावेशी हटाउन खोजे स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ठुला दलहरूबाट अब मुलुकको अवस्था सुधार नहुने भएकाले आफूहरू बलियो भएर आउनुपर्नेछ, यसका लागि जनतालाई संगठित गर्न चार महिने ‘जनतासँग जसपा नेपाल, अभियान’ चलाएका हौँ, यो अभियानपछि मुलुक जोगाउन सडक संघर्षमा जानैपर्ने छ ।’