काठमाडौँ, ८ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताउनुभएको छ ।
शनिबार पार्टीको नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो ठोकुवा गर्नुभयो ।
उहाँले सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल र बिचौलियाहरुमा आतंक सुरु भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘३२ सिटको माओवादीले हामीलाई चुनौती दियो भनेर उनीहरु सरकार हटाउनतर्फ लागे । बाहिर हेर्दा त कांग्रेस र एमाले बसेर सरकार हटाएको जस्तो देखिन्छ तर भित्र दलाल, बिचौलिया र कमिसनखोरहरुले ती दलहरुलाई आफ्नो प्रतिनिधिको रुपमा सिंगारपटार गरेर पठाएका हुन् । अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार हो ।’
पछिल्लोपटक आफ्नो नेतृत्वको सरकारले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचारविरुद्ध युद्धको उद्घोष गरेकोे भन्दै भ्रष्टाचारलाई निर्मूल नगरेसम्म समृद्धि सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जबसम्म भ्रष्टाचारलाई यो देशबाट निर्मूल गर्न सकिँदैन, जनता र राष्ट्रको समृद्धि सम्भव छैन भन्ने तथ्यलाई मनन गरेर नै भ्रष्टाचारीमाथि कारबाही अभियान सुरु गरिएको हो ।’
चाहे नक्कली भुटानी शरणार्थी होस्, चाहे ललिता निवास र बाँसबारीको भूमाफियाको कुरा होस्, चाहे मिटरब्याजीको कुरा होस्, चौतर्फीरुपमा देखिएका भ्रष्टाचार, बेथिति र अपचलनविरुद्ध प्रहार गर्दै श्रमिक जनतालाई सामाजिक सुरक्षा कोषमा संगठित गरेर श्रमिक र उनीहरुका सन्तानको भविष्य सुनिश्चित गर्ने तथा लाखौँ नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने महत्वपूर्ण थालनी आफ्नो कार्यकालमा गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारबाट बाहिरिँदै गर्दा मैले एउटा विजेताको रुपमा आफूलाई उच्च मनोबलका साथ प्रस्तुत गरेको छु, हामी कुनै काण्ड बोकेर फर्केनौँ बरु कयौँ काण्डका फाइलहरु खोलेर फर्केका छौँ । यही नैतिक र जनबलमा हामी नयाँ अभियानको नेतृत्व गर्ने छौँ ।’
जनताको इच्छा आकांक्षाविपरीत जाने हो भने दुई तिहाइ बहुमतले केही हुँदैन भन्ने भर्खरै बंगलादेशमा देखिएको पनि उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले नेपाली जनताले जुन अधिकार प्राप्त गरेका छन्, माओवादीकै कारण हो, दुई तिहाइवालाका कारण होइन, अब संविधान संशोधन गर्ने रे, मुलुकलाई पछाडि फर्काउने रे १ हिजो प्रतिगमन हुँदा सडकमा बसेर पलेटी कसेर लोकतन्त्र पुनःस्थापित गरिएको हो, हाम्रा जनताले पाएको अधिकार खोस्ने दुस्साहस गर्छन् भने फेरि सडकमा जाने तयारीमै छौँ, जान्छौँ ।’
यस्तै, अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले २०६४ कै हाराहारीमा हैसियत प्राप्त गरेर पहिलो दल बन्ने वातावरण बन्दै गएको बताउनुभयो । उहाँले आफ्नो पार्टी नेतृत्वको सरकारले अघि बढाएको सुशासनको अभियानले पार्टीलाई पुनः जनतासँग नयाँ सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।
त्यस्तै, जनयुद्धकालका कार्यकर्ता र जनमुक्ति सेनाको खोजी गरेर उनीहरुका समस्या समाधान गर्दै पुनः नयाँ क्रान्तिमा परिचालनका लागि पार्टी गम्भीरतापूर्वक लाग्ने गरी पार्टीले योजना बनाएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले आफू देशव्यापी अभियानमा निस्कन थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनयुद्ध दिवसलाई राष्ट्रिय बिदा र जनयुद्ध तथा जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिने ऐतिहासिक काम पनि हामी अघि अघि बढाएका छौँ । चाँडै शान्ति प्रक्रियालाई पूर्णता दिएर हामी नयाँ शिराबाट अघि बढ्ने छौँ ।’
पार्टी एकताबद्ध रहेको उल्लेख गर्दै प्रचण्डले विभाजन भएर गएका पार्टीहरुसँग पनि एकता प्रक्रिया चाँडै सुरु हुने बताउनुभयो ।