मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको छ : गृहमन्त्री लेखक

48

काठमाडौँ, ७ भदौ । गृहमन्त्री रमेश लेखकले दुई ठुला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको बताउनुभएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठुला दलको समीकरणबाट निर्माण भएको अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने उल्लेख गर्नुभयो ।

उहाँले १८ वर्षदेखि निष्कर्षविहीन रहेको संक्रमणकालीन न्यायसम्बन्धी विषय अहिलेको दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिँदा निष्कर्षमा पुग्न सफल भएको स्पष्ट पार्नुभयो ।

गृहमन्त्री लेखकले कांग्रेस र एमाले एक ठाउँमा आएर सहज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरुलाई समाधान गर्ने अभिप्रायले यो समीकरणको निर्माण गरिएको बताउनुभयो ।

सत्ता पक्ष र प्रतिपक्ष दुवै लोकतन्त्रका अपरिहार्य आधार भएकाले विकास, आर्थिक समृद्धि, कानुनको शासन सुनिश्चित गर्नेलगायतका कुराहरुमा सबै सँगै मिलेर काम गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

गृहमन्त्री लेखकले राजनितिक अस्थिरताले विगतमा केन्द्र र प्रदेश दुवैमा असर परेकाले थलो परेका विकास र निर्माणका कामहरु अब दुई ठुला पार्टी मिलेर बनेको यस सरकारले पूरा गर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...